देश

ओलीको दुत बनेर शितल निवास गएका दाहाल हिस्स ! के भनिन् राष्ट्रपतिले ?

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनमतको सम्मान गर्दै जारी गतिरोध अन्त्यको पहल गर्न दलहरुलाई आग्रह गरेकी छन् ।

राष्ट्रपतिलाई भेट्न बिहीबार बिहान शीतलनिवास पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँंग राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन् ।

दलहरु मिलेर गतिरोध अन्त्य गर्नुको विकल्प नभएको भन्दै राष्ट्रपति भण्डारीले सहमतीको मिलनबिन्दु पहिल्याउन आग्रह गरेको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । सरकारले पेश गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश पारित गर्न सत्तारुढ दलको ब्यापक दबाब झेल्दै आएकी राष्ट्रपति भण्डारीले,गतिरोध लम्बिदै गए समस्या थपिने भन्दै दलहरुलाई सचेत समेत गराइन् ।

‘जनमत तपाईंहरुसँग छ, निकास निकाल्ने तपाईंहरुले नै हो’ राष्ट्रपति स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘लामो समय गतिरोध रहँदा जनतामा निराशा उत्पन्न हुनसक्छ । यो पक्षमा पनि ध्यान दिनु जरुरी छ ।’

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच झण्डै डेढ घण्टा कुराकानी भएको थियो । ‘समसामयिक राजनीतिक गतिरोधबारे नै उहाँहरुबीचको छलफल केन्द्रित थियो’ अधिकारीले भने, ‘राष्ट्रपतिज्यूले गतिरोध फुकाउन जिम्मेवार र गम्भीर हुन अनुरोध गर्नु भएको छ ।’

बालकोटको सन्देश शितलनिवासमा

बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका अध्यक्ष दाहाल पौने घण्टा कौसीमा घाम तापेर फर्किए । ओली र दाहालबीचको भेट सरकार निर्माण पार्टी एकतामा केन्द्रित भएको थियो ।

एमालेका नेताहरुले पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति र सभामुखजस्ता प्रमुख पदहरुमा आफ्नो दाबी गरेपछि दुई दलबीचको सम्बन्ध चिसिएको बताएका थिए । तर, झण्डै साताव्यापी राजधानी बाहिरको भ्रमण सकेर माओवादी अध्यक्ष दाहाल राजधानी फर्केको एक दिनपछि दुई नेताबीच भेटवार्ता भएको हो । तर, भेटमा पार्टी एकता र सरकार गठनलगायत विषयमा त्यति सुखद कुराकानी नभएको बताइएको छ । माओवादी नेताहरुले निर्वाचन परिणामपछि एमाले नेतृत्व त्यसमा पनि विशेषतः ओलीमा दम्भ बढेको निस्कर्षमा पुगेका छन् ।

स्रोतले भन्यो, ‘दुई नेताबीच सरकार गठन, पार्टी एकतासहित राष्ट्रिय राजनीतिका विविध पक्षबारे छलफल भयो तर, दुःखको कुरा उहाँहरुबीचको कुराकानी सुखद हुन सकेन ।’ जे भए पनि नेताहरुबीचको मिलनबिन्दुले मुलुकले निकास पाउनेमा दुईमत छैन ।

ओली भेटेको भोलीपल्टै राष्ट्रपति भेट्न पुग्नुले दाहाल मध्यमागी भूमिकामा उभिएको देखाएको छ । दाहाल काँग्रेस र एमलोलाई सहमतिमा ल्याएर राजनीतिक स्थीरता दिने मनस्थितिमा रहेको जानकारहरु बताउँछन् । काँग्रेसले राष्ट्रपतिले कुनै पनि हालतमा अध्यादेश जारी गर्नुपर्ने भन्दै सडक आन्दोलनको चेतावनी दिएको छ । यस्तै एमालेले पनि राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्नु संविधानविपरित भएको तर्क अगाडि सारेको छ । माअ‍ोवादीले भने दुई दलका नेतालाई सहमतिमा लिएर जाने रणनीतिमा छ । दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यादेशबारेमा सहमतिमा लैजानेतर्फ महत्वपूर्ण भूमिका खेलेका छन् । तर, अध्यादेश स्वीकृत भएमा सरकार निर्माणलगायतका महत्वपूर्ण विषयमा बाटो खुल्ने निश्चित छ ।

दाहालले ओलीको गोप्य सन्देश दिएर राष्ट्रपतिलाई भेट्न गएको स्रोत बताउँछ । हिजो ओलीसँग भएको भेटका विषयमा जानकारी गराएको जानकारी बाहिर आएको छ ।

सरकार निर्माणमा ढिलाई भएको भन्दै माअ‍ोवादी केन्द्रका अध्यक्ष दाहालले कुरा उठाएपछि ओली केही लचक देखिएको स्रोत बताउँछ । राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै राजनीतिक गतिरोध अन्त्य गर्दै अगाडि बढ्न राष्ट्रपतिले आग्रह गरेकी छन् । आपसी सहमति जुट्न नसकेपछि दलकोनताहरु पटक–पटक राष्ट्रपति गुहार्दै आइरहेका छन् ।