आर्थिक

अजय सुमार्गीको ज्यान खतरामा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्षमाथि आइलाग्यो यस्तो आपत !

काठमाण्डौ । व्यवसायी अजयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाबाट आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा लिखित निवेदन दिएका छन् ।

बुधबार निदेवन दिँदै उनले आफ्नो र परिवारको जीवन रक्षाको याचना गरेका छन् । काठमाण्डौ प्रशासनले सुमार्गीको निवेदन महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाएर आवश्यक छानिबन गर्न भनेको छ । तर, सुमार्गीले आफूमाथि सिरोहियाले ज्यान लिने धम्की दिएको आधार खुलाउन सजिलो छैन । ‘मैले सुमार्गीलाई ज्यान लिने धम्की दिएको छैन’, सिरोहियाले भने, ‘मैले त्यस्तो धम्की कहिले र कसरी दिएको हो भन्ने आधारसहित पुष्टि गर्न चुनौती दिन्छु, नभए ममाथि गम्भीर अभियोग लगाउनेमाथि कारबाही होस् ।’

सुमार्गीको विदेशमा रहेको २२ अर्ब रुपैयाँ अवैध रहेको समाचार कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेका पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमा एकैपटक आएपछि सुमार्गी–सिरोहियाबीचको विवाद सार्वजनिक भएको हो । निवेदनमा सुमार्गीले सिरोहियाले आफूसँग जग्गा कारोबारमा आर्थिक सौदाबाजी गरेको र आफूले भनेअनुसार नभए सिध्याउन जे पनि गर्न सक्ने भन्दै धम्की दिएको आरोप लगाएका छन् ।

सिरोहिया चरम आर्थिक संकटमा परेपछि आफूलाई जग्गा किनिदिन गरेको आग्रहअनुसार आफूले २०७० साल असार १६ गते करिब ६ रोपनी जग्गा २३ करोड २१ लाख १२ हजार रुपैयाँमा मुक्ति श्री सिमेन्ट इन्डस्ट्रिजका नाममा खरिद गरेको र त्यसको एक वर्षपछि आर्थिक अवस्था सबल आएपछि र जग्गाको मूल्य वृद्धि भएपछि सिरोहियाले बिक्री गरेकै मूल्यमा फितौ मागेको दाबी सुमार्गीको छ ।

तर, आफूले उही मूल्यमा जग्गा फिर्ता गर्न इन्कार गरेपछि कान्तिपुर दैनिक, दि काठमाण्डु पोष्ट, नेपाल साप्ताहिक, कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरका माध्यमबाट आफू, आफ्नो परिवार तथा आफ्ना कम्पनीविरुद्ध कपोलकल्पित र आधारहीन समाचार सम्प्रेषण गराउन थालेको आरोप सुमार्गीको छ ।

‘जग्गा पुनः मैले सोही मूल्यमा फिर्ता गर्न इन्कार गरेपछि निज कैलाशप्रसाद सिरोहियाले आर्थिक सौदावाजी गर्दै निजले भने बमोजिम नभएमा मलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिनुभएको थियो ।’

कान्तिपुर मिडिया ग्रुपमा आएका आधारहीन समाचारहरुका कारण आफ्नो व्यवसायिक जीवनमा ठेस पुग्नुका साथै राष्ट्रिय÷अन्तर्राष्ट्रिय जगतमा मान प्रतिष्ठामा आँच आएको जिकिर उनको छ । पछिल्लो पटक कान्तिपुर दैनिकमा गत ९ पुसमा प्रकाशित ‘सुमार्गीको २२ अर्ब रकम अवैध’ शीर्षकको समाचारका कारण उनीहरुको सम्बन्धमा थप खटपट सिर्जना भएको हो ।

सुमार्गीले सिरोहियाले पटकपटक आफ्नाविरुद्ध झूठा समाचार प्रकाशन गर्दै मानसिक रूपमा प्रताडित तथा आतंकित गराउने र जनमानसमा आफूप्रति नकारात्मक प्रभाव र भ्रम फैलाउने प्रयत्न गरेको आरोप लगाएका छन् । तर, सिरोहियाले भने सुमार्गीको आरोपको प्रतिवाद गरेका छन् । सुमार्गीको २२ अर्ब रुपैयाँ अवैध भएको आरोप मनगढन्ते र आधारहीन नभई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र सम्पत्ति सुद्धीकरणको छानबिनले समेत स्पष्ट गरिसकेकाले उनको आरोपको कुनै अर्थ नरहेको दाबी उनको छ ।