आर्थिक

कांग्रेस–एमाले र माओवादीले मुलुकमा पाँच दलीयवाद लाद्न खोजेः मोहन वैद्य

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु भएको दाबी गर्दै आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको बताएका छन् ।

प्रदेश नं ५ को प्रशिक्षण कार्यक्रमलाई बुटवलमा उद्घाटन गर्दै उनले सच्चा क्रान्तिकारीलाई गोलवद्ध गरेर प्रतिक्रान्ति रोक्ने जिकिर गरे ।

उनले नेत्रविक्रम चन्द विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि एकताका लागि छलफल भइरहेको बताए ।
मुलुकमा बनेका दुई वाम तथा लोकतान्त्रिक गठबन्धन जनताका लागि नभएर पश्चगामी संसदीय व्यवस्थालाई संरक्षण गर्न बनेको उनको आरोप छ ।

‘वहुदलीय र वहुलवादलाई सिध्याएर कांग्रेस–एमाले र माओवादी केन्द्रले मुलुकमा पाँच दलीयवाद लाद्न खोजे’, वैद्यले भने ।

उनले एमालेसँग माओवादी केन्द्रको एकता नभएर विलय हुन लागेको आरोप लगाए । पार्टी स्थायी समिति सदस्य परि थापाले संसदीय पार्टीकै कारण मुलुकमा संसदीय व्यवस्था कमजोर बन्दै गएको जिकिर गरे ।