राजनीति

चकित हुँदै प्रधानमन्त्रीले भनेः नारायणगढ–मुग्लिन सडकको काम अझै सकिएको छैन !

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक खण्डको निर्माण अझै नसकिएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
सौराहामा आयोजीत हात्ती महोत्सवको उद्घाटन गर्न मंगलबार चितवन पुगेका प्रधानमन्त्री देउवा व्यवसायीको कुरा सुनेर छक्क परे । केही महिनाअघि आफैँले निरीक्षण गरेर काम चाडै सक्न निर्देशन दिएको सम्झना उनले गरे ।

‘मुग्लिनदेखि यहाँ आउने सडक अझै बनेको रहेनछ । अझै समस्या आएको थाहा पाउँदा मलाई दुःख लागेको छ । म आफैँ आएर काम हेरेको थिएँ । दुई तीन महिनामै बाटो बनाउने सबैले मलाई आश्वासन दिएका थिए । तर अहिलेसम्म बाटो बनिसकेको छैन भनेर सुन्दा बडो दुःख लागेको छ,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्री देउवाले सडक निरीक्षण गरेर काम सक्ने निर्देशन दिएको पाँच महिना पुग्न लागेको छ ।

गएको साउन १८ गते प्रधानमन्त्री शेरबहादुर देउवा विस्तारको काम भइरहेको नारायणगढ मुग्लिन सडक निर्माणको निरीक्षणको लागि आएका थिए । सो बेला आयोजना प्रमुख र ठेकेदारहरुलाई प्रधानमन्त्री देउवाले युद्ध स्तरमा काम गरेर आयोजनाको काम चाडो सक्न निर्देशन दिए । तर प्रधानमन्त्रीको निर्देशनपछि अहिलेसम्म थप १५ प्रतिशत मात्रै काम भएको छ ।

त्यो बेला प्रधानमन्त्री देउवा यातायात मन्त्री, सांसद र सचिवहरुको जम्बो टोली लिएर निरीक्षणमा आएका थिए । हेलिकप्टर ल्याएर आएको टोली हेलिकप्टरबाट झरेपछि सडक मार्ग हुँदै केही परसम्म पुगेर निर्माण कार्यको अनुगमनसमेत गरेको थियो । सडकको काम तत्काल सक्न प्रधानमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीहरुले पटक पटक निर्देशन दिए ।

प्रधानमन्त्री लगाउतले चासो दिएपछि सडक निर्माणको कामले रफ्तार लेला भन्ने धेरैलाई लागेको थियो । तर आयोजनाको सुस्त पारमा कुनै सुधार आएको छैन । ‘नेपालमा यही हो समस्या । काम छिटो हुँदैन विकास कार्य यसैका कारण प्रभावित हुने गरेको छ’ मंगलबार प्रधानमन्त्री देउवाले सौराहामा भने ।