पु.समाचार

नाराबाजी र विरोधका बीच गाउँपालिकाको नाम परिवर्तन

रोल्पा । गाउँपालिकाको नाम परिवर्तन गर्ने विषयमा जनताको व्यापक असन्तुष्टि र नाराबाजी हुन थालेपछि रोल्पाको एक गाउँपालिकाले प्रहरी घेराबीच बैठक सम्पन्न गरी नाम समेत परिवर्तन गरेको छ ।

पूर्वी रोल्पाको सुवर्णावती गाउँपालिकाका बहुमत जनप्रतिनिधिको बैठकले सो नाम परिवर्तन गरी शहीद सुनिल स्मृति गाउँपालिका नामाकरण गरेको हो । बैठकमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले नाम परिवर्तनको प्रस्ताव गरेसँगै १९ जना सदस्यले विरोध जनाउँदै बैठक बहिष्कार गरेर निस्किएको बताइएको छ ।

प्रस्तावप्रति व्यापक असन्तुष्टि र विरोध जाहेर गर्दागर्दै पनि सुनुवाइ नभए पछि बाहिर निस्कनुको विकल्प भएन वडाध्यक्ष गंज क्षेत्रीले भने । हाम्रो बहिष्कारपछि सामान्य बहुमतको आधारमा निर्णय भएको आफूले जानकारी पाएको क्षेत्रीले बताए ।

गाउँपालिका बाहिर जनताको व्यापक विरोध र नाराबाजी हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरेर बैठक गरी नाम परिवर्तनको निर्णय गरेको क्षेत्रीले आरोप लगाए । ‘लोकतन्त्रमा अल्ममतको पनि कदर हुने भएपनि उनीहरुले कसैको कुरा नसुनेर निरंकुश शैलीमा निर्णय गर्नुभयो’, क्षेत्रीले भने ।

उता गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले भने सर्वसम्मत हुन नसकेको विषय अल्पमत, बहुमतमा टुंग्याउने विषय भएकाले कानूनको शासन र लोकतन्त्रको मर्मअनुसार गाउँपालिकाको नाम परिवर्तन गरेको बताए ।

नाम परिवर्तनको विषयले शहीदको स्मृति र सम्मानसमेत भएकाले अधिकांश जनप्रतिनिधि र जनताले समर्थन गरेको अध्यक्ष घर्तीले प्रतिक्रिया दिए । ्