राजनीति

ओली भेटेको भोलिपल्ट माओवादी अध्यक्ष दाहाल किन पुगे शितल निवास ?

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भेटवार्ता भएको छ ।भेटवार्ताका लागि दाहाल बिहीबार बिहान ९ बजे शितल निवास पुगेका छन् ।

राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् । त्यसैको निरन्तरतास्वरुप दाहालसँग फेरि पनि परामर्श गरेको बताइएको छ ।

राष्ट्रपति भण्डारीलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ ।

कांग्रेस र एमालेबीचको अडानले राजनीतिक गाँठो नफुकिरहेका बेला माओवादी अध्यक्ष दाहालले भने मध्यमार्गी विकल्पको खोजीमा रहेको बताउँदै आएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार बालकोट निवास पुगेर दाहालले अध्यादेशको विषयमा पनि छलफल गरेका थिए । आजको राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण रुपामा लिइएको छ ।