पु.समाचार

चुनावपछिको ध्यान पुनःनिर्माणमा केन्द्रित गर्न जोड

पूर्णप्रसाद मिश्र
काठमाडौँ । संविधान कार्यान्वयनका लागि तीन चरणको निर्वाचन सम्पन्न भएपछि सबैको ध्यान भूकम्पपछिको पुनःनिर्माणमा जानुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको दोस्रो वर्ष प्रवेशका अवसरमा आज प्राधिकरणले आयोजना गरेको कार्यक्रममा प्राधिकरणसम्बद्ध पदाधिकारीहरुबाट अब सबैको जोड पुनःनिर्माणतर्फ हुनुपर्ने धारणा व्यक्त भयो । यसअघि संविधान निर्माण, कार्यान्वयनलगायत राजनीतिक विषयमा व्यस्त भएकाले अबको समय भूकम्प र बाढीपछिको पुनःनिर्माणमा तीव्रता दिनुपर्ने बताइएको हो ।

कार्यक्रममा प्राधिकराणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले अनुगमन, समन्वय, सहजीकरण र मूल्याँकनको समेत जिम्मेवारी भएकाले अब स्थलगत रुपमा पुनःनिर्माणका काम भए नभएको अनुगमन र मूल्यांकनमा ध्यान केन्द्रित हुने बताए ।

“अब आधाभन्दा बढी समय प्राधिकरण स्थलगत अनुगमनमा जान्छ, घर बनाउन नसक्ने अवस्थाका एकल महिला, वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई कसरी निजी आवास पुनःनिर्माणमा सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेकाले अब बस्ने कार्यकारी समितिको बैठकले यस विषयमा निर्णय गर्नेछ” – उनले भने ।

पुनःनिर्माणमा साढे तीन खर्ब अपुग हुने देखिएकाले आगामी वर्षाद्को समयमा फेरि दाता सम्मेलन गर्ने सोच प्राधिकरणले बनाएको भुसालले सुनाए । भूकम्पले निजी आवास क्षति भएका लाभग्राहीमध्ये हालसम्म घर निर्माण सम्पन्न गर्ने र अन्तिम चरणमा पु¥याउने ४६ प्रतिशत पुगेको प्राधिकरणको दाबी छ ।

भूकम्पअति प्रभावित १४ जिल्लामा छ लाख ६७ हजार ६६२ र प्रभावित १७ जिल्लामा एक लाख ४३ गरी सात लाख ६७ हजार ७०५ घर पुनःनिर्माण गराउनुपर्ने दायित्व प्राधिकरणमाथि छ । यसैगरी २४ हजार ९९१ घरको प्रबलीकरण गराउनुपर्नेछ ।

पीडितमध्ये हालसम्म छ लाख ७६ हजार ८४९ घरधनी अर्थात् ८८ प्रतिशतले निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेका छन् । छ लाख ६४ हजार ६४४ अर्थात् ९८ प्रतिशतले पहिलो किस्ता बापतको रु ५० हजार बुझेका छन् । एक लाख १५ हजार १९२ घरधनीले दोस्रो किस्ताको रु एक लाख ५० हजार पनि लिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी गराए।

“रकम बुझेकामध्ये ७९ हजार ५०२ ले घर निर्माण सम्पन्न गरिसकेका छन्, एक लाख ९४ हजार ११२ ले आवास निर्माण शुरु गरेका छन्, भूकम्पअति प्रभावित १४ जिल्लामा ४६ प्रतिशत घर पुनःनिर्मााणको क्रममा देखिन्छ”–उहाँले भन्नुभयो ।

प्राधिकरण स्थापनाका दुई वर्ष नीतिगत, कार्यविधिगत, संरचनागत, कानूनी एवं व्यवस्थापकीय प्रबन्ध मिलाउनुका साथै पुनःनिर्माणका तयारी र शुरुवातमा बितेकाले अब तीव्रता दिने समय आएको जनाइएको छ । पछिल्लो छ महिनामा चार गुणा बढीले पुनःनिर्माणमा वृद्धि भएको दुई वर्षे प्रगति प्रतिवेदनमा उल्लेख छ ।

विद्यालय पुनःनिर्माण उत्साहप्रद
हालसम्म दुई हजार ७४१ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले आठ हजार ६०० विद्यालयमा क्षति पुगेकामा सात हजार ५५३ विद्यालय पूर्ण रुपमा ध्वस्त भएको थियो । हालसम्म दुई हजार ७४१ अर्थात् ३६ प्रतिशत विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । एक हजार ४०० विद्यालय पुनःनिर्माणको क्रममा छन् । विद्यालय पुनःनिर्माण खुशीलाग्दो अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

४८ प्रतिशत स्वास्थ्य संस्थाको पुनःनिर्माण
भूकम्पले ५४४ स्वास्थ्य संस्थामा पूर्ण र ६५३ मा आंशिक क्षति पुगेको थियो । एक हजार १९७ संस्था बनाउनुपर्नेमा हालसम्म ४८ प्रतिशत सम्पन्न भएको प्राधिकरणको तथ्याँक छ ।

त्यसमध्ये २४७ पुनःनिर्माण सम्पन्न र ३२८ को प्रबलीकरण भएको छ । विद्यालय र स्वास्थ्य संस्थाको पुनःनिर्माणमा सरकार, दातृ निकाय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पहिलो प्राथमिकतामा राखेकाले सहज भएको हो ।

२०३ सरकारी भवन बनाउन बाँकी
भूकम्पले २३० सरकारी भवन पूर्ण र ३५३ आंशिक रुपमा क्षति भएका थिए । जम्मा ४५३ भवन बनाउनु पर्नेमा १७७ काम सम्पन्न भएको र २०३ बनाउन बाँकी छ । हालसम्म ३७ प्रतिशत सरकारी भवन निर्माण सम्पन्न भएका छन् ।

सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेकामा ४४ वटा निर्माण भइसकेका छन् । एकसय ४० को निर्माण भइरहेको र १८४ निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

३९७ सम्पदाको पुनःनिर्माण हुँदै
भूकम्पले विश्व सम्पदा सूचीमा सूचीकृत सात स्थानका १४० सम्पदामा क्षति पु¥याएको थियो । अन्य ६१३ धार्मिक एवं सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो । क्षति पुगेका सम्पदामध्ये उपत्यकाका ४६० छन् भने बाहिरका १९३ छन् ।

विश्व सम्पदामा समावेश भएकामध्ये हालसम्म ३१ वटाको पुनःनिर्माण सम्पन्न भएको छ । उपत्यका बाहिरका ४८ सम्पदा पनि दुईवर्षे अवधिमा बनेका छन् । तीन सय ९७ सम्पदा अहिले पुनःनिर्माण भइरहेको प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालले बताए ।

प्राधिकरणले १९० बस्तीलाई पहिरोको जोखिमका कारण स्थानान्तरण गर्ने तयारी गरेको कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले बताए । सचिव मधुसूदन अधिकारीले ४० प्रतिशत समय व्यतित हुँदा पुनःनिर्माणको काम सन्तोषजनक नरहेको भन्ने आधार प्रमाणित नहुने बताए ।

कार्यक्रममा प्राधिकरणका तर्फबाट वर्षभर उत्कृष्ट काम गर्ने उपसचिव डा भीष्मकुमार भुसाल, प्रमुख नापी अधिकृत कमल घिमिरे, अर्थशास्त्री रामकुमार श्रेष्ठ, शहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाईका सिडिई परीक्षित कडरिया, प्राधिकरणका विष्णु लामिछाने, युवराज खरेल, विजय रानालगायतलाई सम्मानसमेत गरिएको थियो ।