राजनीति

माओवादी फुट्ने संकेत, ओली भेटेकै दिन दाहाललाई गोपाल किराँतीले दिए कडा चेतावनी !

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले वाम एकताप्रति असहमति जनाउँदै तत्काल पार्टीको राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन् । माओवादी केन्द्रका सचिवालय सदस्य किराँतीले छुट्टै ‘आठौं महाधिवेशन समुह’ गठन गरेर एमाले जस्तो दक्षिणपन्थी पार्टीसँग माओवादी विलय भएमा पार्टी पुनर्गठन गर्ने चेतावनी दिएका छन् ।

आठौं महाधिवेशन समुह मार्फत नेता किराँतीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल समक्ष राष्ट्रिय महाधिवेशनको माग गर्दै १० बुद्धे मागपत्र प्रस्तुत गरेका छन् । मागपत्रमा माओवाद र पहिचानको मुद्दा धरापमा पारेर एमालेसँग विलय भएमा पार्टी पुनर्गठन गर्ने चेतावनी दिइएको छ ।

किरातीको मागपत्रमा भनिएको छ, ‘माओवाद र पहिचानको मुद्दा धरापमा पारेर पार्र्टीलाई दक्षिणपन्थमा विलय गर्दछ भने त्यससँग सम्बधविच्छेद गरी आफ्नो सर्वहारा वर्गीय स्वतन्त्रतामा पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुनेछ ।’

किराती समुहले माक्र्सवाद–लेनिनवाद–माओवाद (मालेमा)को पथप्रदर्शक सिद्धान्त मानेको छ । किराँतीले एकताको नाम मालेमाको पथप्रर्शक सिद्धान्त छोड्न लागेको आरोप लगाएका छन् । नेपाली सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई गणतन्त्रसम्म पुर्याउने माओवादी केन्द्र आन्दोलनको समीक्षाबिना नै संसदवादमा विलय गर्ने दक्षिणपन्थी भड्कावमा फसेको आरोप किरातीको छ ।

माओवादीको जीवनमा असाधारण प्रश्न रहेको हुँदा त्यसको समाधानको विकल्प महाधिवेशनले मात्र भएको उनको ठहर छ । अहिले पार्टीको केन्द्रीय निकाय विचलित भएको किरातीले आरोप लगाएका छन् । मागपत्रमा भनिएको छ, ‘वृहत् कम्युनिष्ट केन्द्र बनाउने प्रश्नमा के आधारमा एकता ? के को निम्ति एकता ? माओवादी धाराको स्वतन्त्र जवाफ जरुरी छ ।’

एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको ६ बुँदे पत्र र निर्वाचनको संयुक्त घोषणापत्रमा मालेमाको उल्लेखसम्म नभएको किरातीको आरोप छ । माग पत्रमा अगाडि भनिएको छ, ‘मालेमा र पहिचान मुद्दालाई धरापमा पारेर एमालेसित एकता महाधिवेशन आयोजक समिति गठन ४०–६० को उम्मेदवार अनुपात संगठनमा लागू हुँदा माओवादी केन्द्रको भागमा आयोजक समिति र महाधिवेशन प्रतिनिधि ४०५ तथा एमालेको भागमा ६०५ हुनेछ । जबकी ५१५ ले नीति र नेतृत्व ठेगान लगाउँछ । यसमा एमालेको एक्लै बहुमत हुन्छ अनि कसरी मालेमा रक्षा हुन्छ ?’

मालेमाको रक्षा, प्रयोग र विकास तथा पहिचान मुद्दा सम्बन्धि यावत प्रश्नको जवाफ महाधिवेशनले दिनुपर्ने किराँतीको माग छ । उनले मालेमावादी वैचारिक–राजनीतिक तथा संगठनात्मक स्वतन्त्रतासहितको आठौं राष्ट्रिय महाधिवेशन अपरिहार्य आवश्यकको बताएका छन् ।

किराँतीको मागपत्रमा आठौं पार्टी महाधिवेशन आयोजनाको पक्षमा अन्तसम्मै अन्तरपार्टी दुईलाइन संघर्ष गर्ने उल्लेख छ । किराँतीसमुहले महाधिवेशनको लागि सदन र सडकबाट सघर्ष गर्ने चेतावनी दिएका छन् । पार्टी महाधिवेशन आयोजनाको पक्षमा सशक्त आवाज उठाउँदै गाउँ-नगर, जिल्ला तथा प्रदेश सम्मेलन आयोजनाको माग जोडदार गरिएको छ ।

पार्टी एकता र सरकार निर्माणका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ‘वा टु वान’ भेटवार्ता भएको छ । पार्टी संयोजन समिति बैठक भोली बस्ने दुवै नेताबीच सहमति भएको हो । पार्टी एकता गर्ने भनेर सकारात्मक बनेका दाहाललाई किराँतीको चेतावनीपूर्ण अभिव्यक्तिले झट्का लागेको छ ।