राजनीति

चितवनका उम्मेदवारले अझै चुनावी खर्च बुझाएनन्

चितवन । चितवनका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उमेदवार बनेका कुनै पनि उमेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचनको नतिजा आएको दुई साताभन्दा बढी समय बितिसके पनि चितवनका कुनै उमेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय भरतपुरले जनाएको छ ।

निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालका अनुसार आज बुधबारसम्म एकजना उमेदवारले पनि खर्च विवरण बुझाका छैनन् । “हामीले समयमै बुझाउन आग्रह गर्दै आएका छौँ । तर कुनै पनि उमेदवार खर्च विवरण बुझाउन आएका छैनन्,” उनले भने ।

निर्वाचन आयोगमा सबै दल तथा स्वतन्त्र उमेदवारले अनिवार्य रुपमा बिल भर्पाइसहित खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । चुनावको नतिजा सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बुझाइसक्नुपर्ने आयोगको निर्देशिकामा उल्लेख छ ।

उमेदवारले खर्च विवरण बुझाउने समय अझै केही दिन बाँकी भए पनि खर्च विवरण बुझाउन ढिला गर्दा वास्तविक खर्च विवरण आउने सम्भावना न्यून हुने सूचना अधिकारी ढकालको भनाइ छ ।

खर्च विवरण बुझाउन भनेर उमेदवारहरुले फारम लगे पनि एक जनाले पनि बिल भर्पाइ पेस गरेका छैनन् । ढकालका अनुसार उमेवारहरुले करिब ५० वटा खर्च विवरणको फारम लगेका छन् ।

चितवनका सबै उमेदवारले आयोगले तोकेको सीमाभित्रै चुनावमा खर्च भएको दाबी गरेका छन् । तर, उनीहरुको उक्त भनाइप्रति मतदाताहरुलाई विश्वास छैन । आयोगले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरुलाई अधिकतम २५ लाख रुपैयाँ र प्रदेशसभा सदस्य पदका उमेदवारलाई अधिकतम १५ लाखसम्मको सीमा तोकेको थियो ।

उम्मेदवारले बुझाएको खर्च विवरणमा शंका लागेमा आयोगले छानबिन गर्न सक्नेछ । निर्वाचन कार्यालयले उम्मेदवारले बुझाएको खर्च निर्वाचन आयोगमा पठाउने गर्छ । त्यसका शंका लागे आयोगले सुक्ष्म अनुगमन गर्न सक्छ ।

उम्मेदवारहरुको भड्किलो चुनावी खर्च र प्रचार हेर्दा ठूला दलका उम्मेदवारले कम्तीमा पनि एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको देखिन्छ । यस पटक पोस्टर, पम्पलेट, झण्डा, चुनावचिन्ह अंकित टिसर्ट र टोपी लगाउन प्रतिबन्ध लगाइए पनि उम्मेदवारका अदृश्य खर्चको ग्राफ अनुमानसमेत गर्न नसकिने गरी बढेको देखिन्छ ।

चितवनका प्रायः उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमा नबढ्ने गरी चुनावमा खर्च गरेको भन्दै आए पनि उनीहरुको भनाइमा सत्यता नरहेको पार्टीको चुनावी प्रचारमा सहभागी एक कार्यकर्ताले बताए ।