आर्थिक

इण्डो–नेपाल महोत्सव देहरादुनमा हुँदै

काठमाण्डौ । दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ ।

उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म उक्त महोत्सव आयोजना गरिएको छ ।

नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराए ।

उनले महोत्सवबाट व्यापार घाटा कम गर्न र नेपाली उत्पादनको भारतमा प्रचार प्रसार गर्न सहयोग पुग्ने बताए ।

उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनको परेड मैदानमा हुने उक्त महोत्सवमा नेपाल र भारतका १५० भन्दा बढी कक्ष रहने छन् । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले भारतमा महोत्सव आयोजना गर्दा नेपालको वस्तु र पर्यटनलाई प्रचारप्रसार गर्न सजिलो हुने बताइन् ।

‘नेपालका वस्तु विदेशमा खपत हुँदा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ’, उनले भनिन्।

संघको आयोजनामा यसअघि २०७३ फागुनमा पहिलो इण्डो–नेपाल महोत्सव आयोजना गरिएको थियो ।