पु.समाचार

काठमाण्डौमा मोडल संयुक्त राष्ट्र संघ सभा हुने

काठमाण्डौ । भोलिको नेतृत्व तयार गर्ने उद्देश्यले काठमाडौंमा नमुना संयुक्त राष्ट्र संघ सभा हुने भएको छ । सभामा नेपाल, भारत, बंगलादेश, थाइल्याण्डलगायतका मुलुकका १३ देखि २० बर्षसम्मका ४ सय जनाको सहभागिता हुने छ । दीगो विकास लक्ष नमुना राष्ट्र संघ नाम दिइएको सभामा बंगलादेश, भारत र संयुक्त अधिराज्यलगायतका मुलुकका २० भन्दा बढी प्रशिक्षकले सहजिकरण गर्ने छन् ।

बुढानिलकन्ठ–१० स्थित रिलायन्स पब्लिक स्कुलको आतिथ्यमा हुने सभामा विभिन्न विद्यालय र कलेजमा अध्ययनरत युवा विद्यार्थीहरुलाई संयुक्त राष्ट्रसंघको विभिन्न संरचना बारेमा जानकारी दिइने छ । संयुक्त राष्ट्र संघमा विभिन्न देशबाट प्रतिनिधित्व गरेर सहभागी हुने प्रतिनिधीहरुले अन्तरदेशिय समस्याहरु कसरी उठान गर्छन् भनेर सिकाइने आयोजक रिलायन्स इजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले बताए ।

‘संयुक्त राष्ट्र संघको महासभामा उठाइने समस्याहरुको समाधानको निम्ति कसरी छलफल हुन्छ र समस्याहरुको हल कसरी गर्दछन् भन्ने जानकारी मोडल संयुक्त राष्ट्रसंघ सभामा सिकाइनेछ,’ उनले भने, यस कार्यक्रमले विद्यार्थीहरुको व्यक्तित्व विकास, नेतृत्व क्षमताको विकास साथै वृहत सोचको विकास गर्न मद्दत गर्नेछ ।

अन्तरदेशिय संस्कृतिको जानकारीको साथै मैत्रीपूर्ण वातावरणमा विश्व समस्याको पहिचान र समधानको बारेमा कलात्मक ढंगले खोजी गर्न सिकाउने उनले बताए । सभा विहीबारदेखि सुरु हुनेछ । तीन दिनसम्म युवाविद्यार्थीले छलफल गरेर काठमाडौं घोषणापत्र जारी गर्ने छन् ।