पु.समाचार

साना सवारीलाई केरुङ प्रवेशमा रोक

काठमाण्डौ । नेपाल–चीन प्रवेशका लागि सन्चालनमा रहेको रसुवागढी नाकाबाट केरुङ प्रवेशमा साना सवारी रोक लगाइएको छ । एक महिनादेखि चिनिया पक्षले केरुङतर्फ साना सवारी लान रोक लगाएको प्रहरीले बताएको छ ।

काठमाडौदेखि एक सय ५२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाकाबाट हाल कन्टेनरमात्र आवतजावत भइरहेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले बताए । रसुवागढीदेखि केरुङसम्म यात्राका लागि ट्याक्सी सेवा सञ्चालनमा रहेको बताइएको छ ।

रसुवागढीबाट केरुङतर्फ दैनिक २० मोटरसाइकल र १० साना यातायातका साधन आवतजावत गर्दै थिए । रसुवागढीबट हाल दैनिक ७० कन्टेनर आउने र ८० कन्टेनर केरुङ बोक्न जाने गरेको टिमुरे प्रहरीको भनाइ छ ।

चीनबाट सुन तस्करी गर्ने गिरोह सक्रिय भएको जनाउँदै चिनिया पक्षले नेपाली साना सवारी सञ्चालनमा रोक लगाएको बताइएको छ । साना सवारीमा फल्स बटम बनाएर ल्याउने क्रम बढेको प्रहरीको भनाइ छ ।

रसुवागढी नाकालाई चिनिया पक्षले गत सेप्टेम्वर एक तारिखदेखि अन्र्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेको छ ।