पु.समाचार

राजपा र फोरमबीच पार्टी एकता, राजेन्द्र महतोले गरे यस्तो खुलासा

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच तत्काल पार्टी एकता हुने स्पष्ट पारेका छन् ।

बुधबार राजधानीमा भएको एक कार्यक्रममा नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गर्ने विश्वास दिलाए । उनले भने, ‘राजपा र फोरमवीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ, अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता अहिले हाम्रो प्राथमिकतामा छ ।’

उनले ६ वटा पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै अब फोरमसँग पनि एकता हुनेमा शंका नगर्न आग्रह गरे । त्यस्तै उनले २ नम्बर प्रदेशमा राजपा र फोरम गठबन्धनको सरकार बनाउने समेत जनाए । उनले भने, ‘मुख्यमन्त्री दुई वटा पार्टीमध्ये एउटाबाट बन्नुपर्छ, फोरमबाट बन्दापनि ठिकै छ, हामीलाई कुनै आपत्ति छैन, उहाँहरुको नै बढि सिट छ ।’

आफूहरुले निर्वाचनलाई आन्दोलनकै रुपमा उपयोग गरेको उल्लेख गर्दै नेता महतोले भने,‘निर्वाचनमा हाम्रो विजयीसँगै आन्दोलनको जीत भएको छ, सहिदको पक्षमा मतदान भएको छ, यो वास्तवमा भन्नुहुन्छ भने मधेश आन्दोलनको जित हो, आन्दोलनको जुन एजेण्डा थियो, त्यसको जित हो ।’

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि विजयी सांसद समेत रहेका नेता महतोले निर्वाचनपछि आफूहरुको राजनीतिक केन्द्रविन्दु र एजेण्डाको केन्द्रविन्दुमा संविधान संशोधन रहेको सुनाए । उनले भने, ‘संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं ।’

उनले राष्ट्रिय राजनीतिको सन्र्दभ उल्लेख गर्दै आफूहरुको ध्यान सरकार बनाउनेतिर नभएको समेत जिकिर गरे । उनले भने,‘केन्द्रिय सरकार बनाउनेतिर हाम्रो कुनै चासो र ध्यान छैन, हामी त संविधान संशोधनको पक्षमा छौं, संशोधन नहुञ्जेलसम्म हामी आन्दोलनमै रहन्छौं, संघर्ष गर्छौं ।’ यद्धपी उनले संविधान संशोधनको पक्षमा जुन पार्टी आउँछ त्यसलाई केन्द्रिय सरकारमा आफूहरुको समर्थन रहने विश्वास दिलाए ।

त्यस्तै महतोले राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणा समेत राखे । उनले भने,‘संविधान अनुसार नै अध्यादेश अघि बढाउनुपर्छ, अध्यादेश रोकेर प्रक्रिया नै अवरोध गर्नुहुँदैन, यही कुरा हामीले राष्ट्रपतिज्यूसँगको भेटवार्तामा उहाँलाई सल्लाह समेत दिएका छौं ।’ उनले राष्ट्रपति उक्त अध्यादेश स्विकृत गर्न नपर्ने कुनै कारण आफूहरुले नदेखेको समेत स्पष्ट पारे । सरकारले पठाएको अध्यादेशको पक्षमा आफूहरुको समेत उनले जनाए ।

समानुपातिक–समावेशी सिद्धान्त अनुसार नै सरकारले एकल संक्रमणीय मतको आधारमा अध्यादेश ल्याएको उनको विश्वास छ । उनले भने,‘हिजो ०४८ सालमा पनि एकल संक्रमणीय व्यवस्था नै थियो, अहिलेपनि एकल संक्रमणीय नै छ, बहुमत आयो भन्दैमा मान्दिन भन्न पाईदैन् ।’

प्रमुख तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै संविधान जारी गरेकोले आफूहरुको लागि तीन वटै पार्टी उस्तै रहेको उनको भनाई थियो । उनले भने, ‘आजको दिनमा संविधान संशोधनको पक्षमा जो आउँछ, त्यसको पक्षमा हामी हुन्छौं, हाम्रो साथ र सहयोग रहन्छ, तर अहिले नै यो वा त्यो भनेर हामी भन्दैनौं ।’ यद्धपी उनले नेकपा एमाले संविधान संशोधनको विरोधमा उभिएको दल भएको स्पष्ट पारे ।

उनले सरकार गठनबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफूहरुको कुनै छलफल नै नभएको पनि जिकिर गरे । उनले भने,‘ओलीसँग छलफल भएको छैन, सरकार गठनको बारेमा त हामीले अहिले सोचेको पनि छैन, हाम्रो ध्यान भनेको संविधान संशोधन नै हो ।’ उनले मधेशवादी दलहरु सरकार बनाउने वा गिराउने गोटीको रुपमा प्रयोग नहुने जिकिर गरे । उनले थपे,‘सरकार बनाउनेबारे हामी कुनै भूमिका खेल्दैनौं ।’