राजनीति

उपेन्द्र यादव भन्छन्ः ओलीजीले चाहेमा सरकारमा जाने ‘चान्स’ छ

काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् ।

गत शुक्रबार बालकोट भेटपछि अध्यक्ष यादव ओलीका विषयमा खुलेर बोल्न चाहेनन् । ओलीले नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई पनि बालकोट बोलाएर आगामी सरकारमा सहाभागिताको विषयमा छलफल गरेका थिए ।

फोरम अध्यक्ष यादवले सरकारमा सहभागी हुने नहुने विषयमा एमाले अध्यक्ष ओलीको हात रहेको बताए । उनले फोरमको मुख्य एजेण्डा भनेको संविधान संशोधन रहेकाले उक्त विषय ओलीका कारण संसदमा अड्किएको दाबी गरे ।

ओली सरकारमा सहभागी हुने कत्तिको ‘चान्स’ छ भन्ने सूर्यखबर डट् कमको प्रश्नमा उनले भने, ‘ओलीजीले चाहेमा चान्स छ ।’
छोटा उत्तर दिएर पन्छिएका यादवले एमालेले आफ्नो एजेण्डा पूरा गरे सरकारमा जाने बताए ।

के हुँदैछ बालकोटमा ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोटमा सरकार निर्माणको विषयलाई लिएर तिव्र भेटमा छन् । उनले साना दलहरुसँगको छलफललाई निरन्तरता दिएका छन् । संघीय समाजवादी फोरमका अध्यक्षसँग छलफल गरी उनले सरकारमा सहभागी हुन आग्रह गरेका थिए । अध्यक्ष यादवले संविधान संशोधन गरे आफू सरकारमा सहभागी हुने अडान राखेपछि वार्ता निष्कर्ष बिहीन बनेको थियो ।

फोरमसँगको वार्ता सफल नदेखे पनि फोरमसँग ओली सकारात्मक रहेको र उक्त मुद्दाका केही अशं सरकारमा पुगेपछि मिलाउन सकिने बालकोट स्रोतले जानकारी दिएको छ । चितवनमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थाहै नदिई ओलीले नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईलाई पनि बालकोट बोलाएर सरकारमा सहभागी हुन आग्रह गरेको बालकोट स्रोत बताउँछ ।

त्यस्तै मधेसवादी दललाई मन पर्ने नेताका रुपमा चिनिएका माअ‍ोवादी अध्यक्ष दाहाल हुन् । उनैले मधेसी दलहरुको माग पूरा गर्ने भएकाले मधेसवादी दलका नजरमा असल नेताका रुपमा चिनिन्छन्. । उनीहरुले दाहाल नै अबको प्रधानमन्त्री हुनपर्ने जिकिर गरेका छन् । त्यस्तै उपेन्द्र यादवको नजरमा पनि दाहाल असल नेताको लिष्टमा पर्छन् । संविधान संशोधनका बेला अध्यक्ष दाहालले सहयोग गरे पनि एमालेका कारण अड्किएको मधेसी नेताहरु बताउँछन् ।