पु.समाचार

सार्वजनिक स्थानमा फोहोर फाल्नेहरु यसरी पर्नेछन् प्रहरीको फन्दामा

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाकाले अब सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई पक्राउ गर्ने भएको छ । प्रहारीको सहयोग मागेर महानगरले सक्रियता देखाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई महानगरपालिकाकाको वातावारण विभागले फोहोर फाल्नेलाई प्रहरीमार्फत पक्रिएर कारवाही गर्न प्रस्ताव गरेको हो ।

विभागका प्रमुख हरिबहादुर कुँवरले प्रमुख जिल्ला अधिकारीलाई फोहोर फाल्नेलाई कानुनबमोजिम कारवाही गर्न सहयोगका लागि आग्रह गरेको बताए ।

फोहोरमैला व्यवस्थापन ऐनले जथाभावी फोहोरमैला गर्नेलाई नियन्त्रणमा लिन प्रहरीको सहयोग लिन सक्ने व्यवस्था गरेको छ । अब सार्वजनिक रुपमा फोहोर फाल्दै गरेकाहरुलाई ड्युटीमा रहेका प्रहरीले पनि पक्राउ गर्ने कुँवरले बताए ।

प्रहरी २४ घण्टा नै सार्वजनिक स्थानमा खटिएको छ । अब महानगरले प्रहरीको सहयोग लिएर जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्नेछ ।

फोहोरमैला व्यवस्थापन ऐनले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । प्रहरीले पनि अनुसन्धानका लागि २४ घण्टा हिरासतमा राख्न सक्ने कुँवरले बताए ।

काठमाण्डौमा नदीनाला, सडक, विभिन्न सार्वजनिक स्थानहरुमा फोहोर फाल्ने प्रवृत्ति बढ्दो छ । त्यसले राजधानीमा बस्ने नागरिकको सभ्यतामाथि पनि प्रश्न उठ्ने गरेको छ भने नगर क्षेत्र प्रदुषित हुँदा स्वास्थ्य समस्या पनि बढिरहेको छ ।