खेलकुद

भैरहवालाई हराउँदै विराटनगर फाइनलमा प्रवेश

काठमाण्डौ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई ८ विकेटले पराजित गरेको छ । यस जितसँगै विराटनगरले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ ।

टस जितेर ब्याटिङको निम्तो पाएको भैरहवाले खराब सुरुआत पायो । २७ रनको स्थितिमा शीर्ष ४ ब्याट्सम्यान गुमाएको भैरहवाका लागि पुनित मेहेरा र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । उनीहरुले पाँचौ विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । पुनितले ४९ र आरिफले ४६ रनको योगदान दिए । विराटनगरका करण केसी र साहिन अदिशाले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले २ विकट गुमाउँदै १७ ओभरमा लक्ष्य पुरा गर्यो । ओपनर आसिफ शेखलाई शून्यमै गुमाएपनि बाबर हायात र अंशुमन रथले ७४ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । बाबरले प्रतियोगिताको तेस्रो अर्धशतक बनाउने क्रममा ६२ रनको योगदान दिए । अंशुमन २६ रनमा अविजित रहे । पारस खड्काले २४ बलमा ४२ रनको अविजित इनिङ्स खेले । आक्रामक ब्याटिङ गरेका उनले २ चौका र ४ छक्का प्रहार गरेका थिए ।