शिक्षा

नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

विनोदसिंह विष्ट/ 
बैतडी । बैतडीको मेलौली नगरपालिका–७ मा रहेको लक्ष्मीपुर आधारभूत विद्यालय पछिल्लो समयमा नमूना बन्दै गएको छ ।

विद्यालयमा सरसफाइका कार्यक्रमलाई संगठित रुपमा अघि बढाएपछि विद्यालयको वातवरणीय, शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिए ।

जिल्ला शिक्षा कार्यालयसँगको समन्वय तथा विश्व खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्धन कार्यक्रमअन्तर्गत विद्यालयमा सरसफाइका कार्यक्रम चलाउन सहयोग गरेपछि विद्यालयमा सुधार आएको उनले बताए ।

अहिले विद्यालयमा बालबालिकालाई दिवा खाजा खानेबेला हात धुनका लागि साबुन पानीको व्यवस्था गरिएको छ, उनले भने “विद्यालय परिसरमा फोहर हुन नदिनका लागि डस्टबिन र खाडलको व्यवस्था गरिएको छ ।” विद्यालयलाई प्लास्टिकमुक्त बनाउने प्रयास गरिएको छ ।

विद्यालयमा खानेपानीको समस्या हुँदा बालबालिका फोहर हुने गर्दथे तर पछिल्लो समयमा सरसफाइका कार्यक्रम विद्यार्थीको बानी व्यवहारमा समेत सुधार आएको छ । दिवा खाजा खानुभन्दा अघि र पछि बालबालिकाले साबुनपानीले हात धुने गरेका छन् ।

विद्यार्थीबाटै सरसफाइका कार्यक्रमलाई अघि बढाउनका लागि विद्यालयस्तरीय बालक्लब गठन गरिएको छ भने अभिभावक सम्मिलित विद्यालयस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति पनि गठन गरिएको छ ।

जिल्लाका १९९ वटा विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको विकास तथा प्रकोप व्यवस्थापन केन्द्रका कार्यक्रम संयोजक सुरेन्द्र जैरुले जानकारी दिए ।

बालबालिकाहरुको सरसफाइमा परिवर्तन

बैतडीका १९९ वटा आधारभूत विद्यालयमा खानेपानी तथा स्वच्छता प्रवर्धन कार्यक्रम शुरु भएपछि विद्यालयको वातावरणीय सरसफाइका साथै बालबालिकाको सरसफाइमा पनि परिवर्तन आएको छ । जिल्ला शिक्षा कार्यालयसँग समन्वयमा शिक्षाका लागि खाद्य कार्यक्रम सञ्चालन भएका विद्यालयमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले कार्यक्रम सञ्चालनमा ल्याएको कार्यक्रम संयोजक जैरुले जानकारी दिए ।

सरसफाइका माध्यमबाट शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भएको र यसले विद्यालयमा धेरै परिवर्तन ल्याएको उनले बताए । कार्यक्रम सञ्चालन गरिएका विद्यालयमा विद्यालयस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति गठन गरिएका छन् भने विभिन्न किसिमका तालीमसमेत सञ्चालन भएका छन् ।

कार्यक्रमले विद्यार्थी तथा अभिभावकमा सरसफाइका बारेमा चेतना जागेको लक्ष्मीपुर आधारभूत विद्यालय मेलौली–७, पच्कोरका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिए। कार्यक्रमले बालबालिकामा सरसफाइ गर्नुपर्छ भन्ने धारणा विकास भएको छ भने बालबालिकाले अभिभावकलाई सरसफाइका बारेमा सिकाउने गरेको उनले बताए ।