आर्थिक

मनोमानी विदेशी सम्मान थाप्नेहरुप्रति राष्ट्र बैंकको कडाई, स्वीकृति लिनुपर्ने बाध्यता

काठमाडौँ । राष्ट्र बैंकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थाले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न नपाइने भएको छ ।

केही वर्षयता बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले विदेशी निकायबाट पुरस्कार र सम्मान थाप्ने क्रम बढेपछि राष्ट्र बैंकले पुरस्कार र विदेश भ्रमणमा कडाइ गरेको हो । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो । ‘बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहायता, चन्दा वा अन्य कुनै पनि प्रकारको शुल्क वा वित्तीय योगदान गरेको आधारमा मात्र सोको प्रतिफलस्वरूप कुनै पनि विदेशी निकायबाट पुरस्कार वा सम्मान ग्रहण गर्न नपाइने,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले विदेशी निकायबाट पुरस्कार वा सम्मान लिने र त्यसकै आधारमा उत्कृष्ट बैंकका रूपमा प्रचार गरी व्यवसाय विस्तार गरिरहेकाले नियन्त्रणका लागि राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको हो ।

विदेशी निकायबाट पुरस्कार वा सम्मान लिनैपर्ने अवस्था आए राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने परिपत्रमा उल्लेख छ । कुनै पनि विदेशी निकायबाट पुरस्कार वा सम्मान ग्रहण गर्नुपर्दा यस बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ,’ निर्देशनमा उल्लेख छ, ‘यसरी स्वीकृति लिँदा पुरस्कार वा सम्मान प्रदान गर्ने विदेशी निकायको वैधानिक हैसियत एवं आधिकारिकता पुष्टि हुने कागजात यस बैंकमा पेस गर्नुपर्नेछ ।’

बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणमा पनि कडाइ गरेको छ । कान्तिपुरका अनुसार, विदेश भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन उक्त निर्देशन जारी भएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । नयाँ निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी चैतसम्म विदेश भ्रमणसम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्नेछ । कार्यविधिका भ्रमणको उद्देश्य उपयोगितालगायत पक्षहरू सञ्चालक समितिबाट निर्णय भएको हुनुपर्ने निर्देशन छ । ‘संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमणमा जानुपर्दा भ्रमण गरिने मुलुक, भ्रमण जाने पदाधिकारीको नाम, अवधि, उद्देश्य, खर्च एवं संस्थालाई हुने लाभको समेत विश्लेषण गर्नुपर्नेछ,’ परिपत्रमा भनिएको छ ।