राजनीति

सरकार गठनपछि मात्र पार्टी एकताः नेता पण्डित

काठमाडौँ । नेकपा (एमाले)का नेता लालबाबु पण्डितले अब बन्ने वामपन्थी गठबन्धनको सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले भने –“पार्टी अध्यक्ष पदको निर्णय एमाले र माओवादी केन्द्र बीचको छलफलपछि मात्र हुनेछ ।”

नेता पण्डितले सरकार गठन भएपछि मात्र एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने बताउँदै राष्ट्रपति कार्यालयमा थाती रहेका राष्ट्रिय सभासम्बन्धी अध्यादेश पुनः विचार भई जारी हुने धारणा व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता एनपी साउदले संवैधानिक राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण रोक्न नमिल्ने बताउँदै उक्त विधेयक स्वीकृत भएपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको गठन प्रक्रिया शुरु हुने र त्यसपछि नयाँ सरकार गठनको ढोका खुल्ने छ भने ।

नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले एमाले र माओवादी केन्द्रका अध्यक्षमध्ये एकजना प्रधानमन्त्री र एकजना पार्टी अध्यक्ष बन्ने बताउँदै वामपन्थीको एकता देशमा राजनीतिक स्थायित्वका लागि भएको विचार व्यक्त गरे ।

राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले वामपन्थी गठबन्धनबाट एक दलीय व्यवस्था आउन सक्ने खतरा रहेको उल्लेख गर्दै प्रदेश नं २ मा बन्ने प्रदेश सरकारले मधेशी जनताको भावनाअनुरुप कार्य गर्ने बताए ।