अन्तर्राष्ट्रिय

जब साउदीका राजकुमारले लेबनानका प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारे…

काठमाण्डौ । साउदी भ्रमणमा रहेका बेला नोभेम्बर ४ मा लेबनानी प्रधानमन्त्री साड अल हरिरीले अचानक साउदी टेलिभिजनमार्फत् राजीनामा घोषणा गरे । उनको राजीनामाले लेबनानका राष्ट्रपति, सरकारी अधिकारी र आम जनता मात्रै चकित परेनन्, मध्यपूर्वको राजनीतिमा प्रभाव राख्ने पश्चिमा शक्ति र त्यहाँको घटनाक्रमलाई नियालिरहेको विश्व जगत पनि छक्क पर्यो ।

अझ रोचक कुरा त के भने साउदी अरबबाट इजिप्ट र फ्रान्स हुँदै स्वदेश फर्केपछि उनले आफ्नो राजीनामा फिर्ता लिए ।

उनको राजीनामा फिर्तापछि हरिरीलाई साउदी अरबमा जबर्जस्ती राजीनामा दिन लगाइएको अनुमान चल्न थाले । न्युयोर्क टाइम्सले यसै विषयमा हाल एक रिपोर्ट प्रकाशित गरेको छ । सो रिपोर्टले हरिरीको नाटकीय राजीनामाका बारेमा केही प्रश्नको उत्तर दिने प्रयास गरेको छ ।
हरिरी साउदी पुगेको दोस्रो दिन बिहान आठै बजे उनलाई दरबारबाट बोलावट आयो। यो समय दरबारी चलनअनुसार थिएन । लामो समयदेखि साउदी छत्रछायाँमा रहेका हरिरी जिन्स र टिसर्टमै निस्किए। हरिरीले सोचे, उनी युवराज मोहम्मद बिन सलमानसँगै मरुभूमिमा दिन बिताउन जाँदैछन् ।

तर उनको साथबाट मोबाइल फोन खोसियो, उनका एक जनाबाहेक सबै अंगरक्षकलाई अलग गरियो । साउदी सुरक्षाकर्मीले उनलाई दुर्व्यवहार र अपमानित गरे। त्यसपछि उनलाई पहिले नै लेखेर तयार पारिएको राजीनामापत्र दिएर साउदी टेलिभिजनका अगाडि पढ्न लगाइयो ।
राजीनामा गर्नुअघि साउदीमै रहेको आफ्नो घरसम्म जान उनी पाएनन् । त्यसैले सुट लिन पनि अंगरक्षकलाई पठाए ।

सो राजीनामा पत्रमा सम्पूर्ण दोष इरानमाथि थोपरिएको थियो। हरिरीले आफ्ना पिता रफिक अल हरिरीझैँ आफ्नो पनि हत्या हुने आशंका व्यक्त गरेका थिए ।

हरिरीको नाममा साउदी अरबमा सम्पत्ति छ । राजनीतिक रुपमा पनि उनका पिता र उनलाई साउदीले सहयोग गर्दै आएको छ । अक्टोबरको अन्तिममा मात्र उनी साउदी भ्रमणबाट आफ्नो देश फर्केका थिए । नोभेम्बर ३ मा उनले इरानी अधिकारी अली अकबर वेलयातीलाई भेटे ।

तर जब उनी रियाद ओर्लिए, साउदी अधिकारीहरुले हरिरीलाई उनकै घर र्पुयाए र पर्खिनका लागि भने। उनले साँझ ६ बजेदेखि १ बजेसम्म पर्खिए। कोही आएन । बिहान उनलाई युवराजलाई भेट्न निम्ता आएको थियो ।

उनले दिउँसो साढे २ बजे राजीनामा पढेका थिए। तर बिहानदेखि त्यसबेलासम्म केके भयो, त्यसको सूचना हरिरीबाहेक अरु कसैसँग छैन ।

यस विषयमा हरिरीलाई सोध्दा उनले टेबलमा एकोहोरो हेरेर यो उनीहरुले सोचेभन्दा खराब रहेको बताएको अधिकारीहरुलाई उधृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ ।

साउदी अरबले हरिरीलाई यसरी प्रयोग गरेको थियो, मानौँ उनी साउदीको जागिरे हुन्, एक सार्वभौमसत्तासम्पन्न राष्ट्रको प्रधानमन्त्री होइनन् । लेबनानी प्रधानमन्त्रीको राजीनामाको यो विचित्र कथा त साउदी युवराज मोहम्मदको कथाको एक अंश मात्रै हो ।

हरिरीले राजीनामा दिएकै दिन उनले राजघरानाकै सयौँ व्यक्तिलाई भ्रष्टाचार आरोपमा पक्राए । त्यसअघि उनले यमनमा युद्ध छेडेका थिए भने कतारमाथि नाकाबन्दी लगाएर सो क्षेत्रमै अस्थिरता उत्पन्न गरेका थिए । सोही दिन यमनमा हुथी विद्रोहीले साउदी अरबलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेका थिए ।


यस वर्ष टाइम म्यागेजिनको प्रभावशाली १० व्यक्तिभित्र पर्न सफल साउदी युवराज निकै महत्वकांक्षी मानिन्छन् । उनी युवराज घोषित भएपछि उनले थुप्रै यस्ता कदम उठाएका छन्, जसका कारण मध्यपूर्वमा हलचल उत्पन्न भएको छ ।

सो क्षेत्रमा लामो समयदेखि सिया मुस्लिम बहुल इरान र सुन्नी बहुल साउदी अरेबियाबीच दुश्मनी चल्दै आएको छ। साना देशहरुमा प्रभाव फैलाउन यी दुई क्षेत्रीय शक्तिबीच तीव्र प्रतिस्पर्धा हुने गर्छ ।

आफू शक्तिशाली भएलगत्तै युवराज मोहम्मदले यो प्रतिस्पर्धामा अब्बल देखिन कदम चालेका छन् ।

त्यसैले हरिरीलाई पनि राजीनामा गराएर त्यसको दोष इरानमाथि थोपरेर लेबनानमा इरानविरोधी मत तयार गर्न उनी चाहन्थे ।

लेबनानमा रहेको हेजबुल्लाहलाई इरानको समर्थन छ भन्ने साउदी आरोप छ ।
न्युयोर्क टाइम्सको रिपोर्टअनुसार वर्षौँदेखि साउदी अरबले प्रयोग गर्दै आएको कदम बदल्न चाहन्छन् युवराज मोहम्मद । तर उनका क्रियाकलापले प्रायः अनपेक्षित नतिजा दिने गरेको छ। कतारमाथि नाकाबन्दीको नतिजा पनि त्यस्तै भयो। यसबाट कतार र इरान अझ नजिक भए ।

हरिरीलाई जबर्जस्ती राजीनामा दिन लगाउने उनको कार्य पनि फलदायी भएन। हरिरी आफ्नो देश पुगेपछि अझ बढी समर्थन पाए। हेजबुल्लाह पनि पहिलेभन्दा शक्तिशाली भयो। त्यतिमात्र होइन अमेरिका, जोर्डन, कुवेत, इजिप्टजस्ता देश पनि उनको समर्थन गर्न हिच्किचाए ।

हरिरीको साउदीको दोहोरो नागरिकता पनि छ, त्यसैले उनलाई भ्रष्टाचार आरोपमा थुन्ने धम्की पनि दिइएको बताइएको छ ।

पश्चिमा कूटनीतिज्ञका अनुसार हरिरीको राजीनामापछि हेजबुल्लाहको विरोध हुने साउदी अरबको अपेक्षा थियो। तर त्यसो भएन । उनको राजीनामालाई शंकास्पद रुपमा हेरियो । हेजबुल्लाह समर्थक राष्ट्रपति माइकल आउनले पनि राजीनामा हरिरी आफैँले नबुझाएसम्म स्वीकृत नगर्ने बताए ।

राजीनामापछि हरिरीलाई एक उनकै एक गेस्ट हाउसमा साउदी रक्षकहरुको निगरानीमा बन्धक राखियो । उनलाई पत्नी र छोराछोरी भेट्न सम्म दिइएन। त्यसपछि लेबनानी अधिकारीहरुले उनलाई छुटाउन कूटनीतिक पहल सुरु गरे । पश्चिमा शक्तिहरुसँग उनीहरुले गुहारेः हाम्रो प्रधानमन्त्री साउदी अरबमा पक्राउ परे ।

त्यसपछि फ्रान्स, अमेरिका, इजिप्ट लगायतका देशहरुले पनि उनलाई छुटाउने पहल थाले। अन्ततः एक सम्झौता भयो र हरिरीलाई साउदी अरबबाट फर्किन दिइयो। सम्झौताअनुसार हेजबुल्लाहका लडाकु यमनबाट फिर्ता गराउन हरिरीलाई जिम्मा दिएका छन् । तर ‘साउदी अरबको भियतनाम’ भनेर चर्चा कमाएको यमनमा हेजबुल्लाहका लगभग ५० जना जति मात्रै लडाकु रहेको बताइन्छ ।

यसले पनि यमन युद्धबाट हात झिक्न साउदी अरबलाई कति हतारो भएको रहेछ, बुझ्न सकिन्छ। तर यी उपायले यो युद्ध अन्त्य नहुने विश्लेषकहरुले बताएका छन् ।

तर यी सबको एक फाइदा भने रियादलाई भएको छ । सँधै साउदी युवराजको चर्को आलोचना गर्ने हेजबुल्लाहका महासचिव हसन नासेरल्लाहले आजभोलि उनको आलोचना गर्न छोडेका छन् । त्यहाँबाट उनी आफ्नो देशमा फर्किएपछि झनै लोकप्रिय भएका छन् । उनले प्रधानमन्त्रीको पद सम्हालिरहेका छन् ।