राजनीति

मतगणनाको माग राख्दै चौधरीद्वारा सर्वोच्च अदालतमा मुद्दा दर्ता, गच्छदारको सांसद पद धरापमा !

काठमाण्डौ । मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधि सभासदस्य निर्वाचनमा वाम गठवन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी भगवती चौधरीले मतगणना परिणाम बदर गरि दोहोर्याएर मतगणनाको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकी छन् ।

सर्वोच्च अदालतको सवैधानिक इजालासमा दर्ता गराइएको उजुरी पत्रमा चौधरीले निर्वाचन आयोग केन्द्रीय कार्यालय बहादुर भवन, मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वान क्षेत्र नम्बर ३ , निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभूषण घिमिरे र दुहबी नगरपालिका वडा नम्बर २ घर भएका सो निर्वाचन क्षेत्र नम्बरबाट विजयी भएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विपक्षीय बनाइएको छ ।

सर्वोच्चमा मुद्धा दर्ता पछि पराजित चौधरीले भनिन्, ‘गच्छदारले निर्वाचन अधिकृत घिमिरे, प्रहरी प्रशासन सबै किनेर ठूलो धाँधली गरेका छन् । मैले सप्रमाण सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छु । सर्वोच्चबाट न्याय पाउने छु भन्ने पूर्ण विश्वास लिएको छु ।’