राजनीति

वाम गठबन्धन टुटेर दाहाल प्रधानमन्त्री बन्नुपर्छः मनिष सुमन

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवम् प्रदेश सभाका लागि निर्वाचित सांसद मनिष सुमनले मुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन तत्काल टुट्नुपर्ने बताए ।

वाम गठबन्धन बनाउने घोषणा गरेकै दिन मुलुकमा कम्युनिष्ट शासन ल्याउने लक्ष्य सार्वजनिक गरेकोले आफूहरुको चाहना भनेको अहिलेलाई कम्तिमा वाम गठबन्धन टुटोस् भन्ने रहेको नेता सुमनले बताए । यद्धपी उनले लोकतन्त्रमा जनमतको सम्मान गर्नुपर्ने भएकोले अहिलेको जनमतलाई आफूहरुले पूर्ण रुपमा सम्मान गर्ने समेत बताए ।

मुलुकमा कम्युनिष्ट शासन आयो भने न्यायलय, प्रेस स्वतन्त्रता, कलकारखाना सबैमा दबदबा रहने र एकदलीय शासन लागु हुनेप्रति आफ्नो डर, त्रास र शंका रहेको उनले बताए । ‘यस्तो डर गलत सावित होस्, त्यसैले म भन्छु यो वाम गठबन्धन टुटोस् ।’

मंगलबार राजधानीमा भएको एक कार्यक्रममा सुमनले राजपा र फोरम नेपालवीच अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउँदै निकट भविष्यमा नै दुई पार्टीहरुवीच एकता हुने विश्वास दिलाए । उनले भने, ‘हाम्रो विचारहरु सबै मिल्छन्, हामीवीच अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध छ, अहिलेको जनमतलेपनि हामीलाई एकताको लागि दबाब दिएको छ, जनताको चाहना पनि यही हो, त्यसैले निकट भविष्यमा पार्टी एकता हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

उनले राष्ट्रिय सभासम्बन्धी गठनको विषयलाई लिएर अहिले भैरहेको विवादबारे टिप्पणी गर्दै भने, ‘यो संविधानमा धेरै त्रुटिहरु छन्, यसलाई अभ्यास गर्दै जाँदा अहिले थाहा भैरहेको छ, संविधान जारी गर्ने दलहरुले अहिले यही समस्या भोगिरहेका छन् ।’

उनले वाम गठबन्धनबाट सरकारको नेतृत्व वाम गठबन्धनले गर्ने निश्चित भएकोले एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तुलनात्मक रुपमा राम्रो भएकोले उनको नेतृत्वमा सरकार बनोस् भन्ने आफूहरुको चाहना रहेको सुनाए ।

उनले भने, ‘ओलीजी हामीप्रति निकै कडा, कठोर र कटु वचन बोल्ने नेता हुन्, भोलिसम्म यो बानी परिवर्तन हुनपनि सक्छ, तर एमाले अछुत छ, उसका नेताहरुले हामीलई कहिले भाषाको नाममा, कहिले पहिरनको नाममा, कहिले के को नाममा गालीगलौज र तथानाम भन्ने गरेका छन्, यो आलोकमा प्रचण्ड राम्रा छन्, उनले कम्तिमा संविधान संशोधनको लागि लचकता अपनाए, पहलकदमी लिएका थिए, (भलै हुन सकेन), तर दाहाल तुलनात्मक रुपमा ओलीभन्दा राम्रा छन् ।’

त्यस्तै उनले २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने समेत जनाए । सुमनले थपे,‘म जिम्मेवारी दिईए प्रधानमन्त्री पनि चलाउन सक्छु नि, मुख्मन्त्री मात्रै किन रु तर यस सम्बन्धमा हामी अहिले छलफलमा छौं, आवश्यक परे म जिम्मेवार वहन गर्न तयार छु ।’