राजनीति

राप्रपा एकीकरण हुने संकेत, कार्यकर्ताले दिए कडा चेतावनी !

काठमाण्डौ । भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको राप्रपालाई पार्टीका कार्यकर्ताले दबाब दिन थालेका छन् । उनीहरुले पार्टी फुटेर नभई जुटे अगाडि बढ्नुपर्ने बताएका छन् । फुटेर तीन टुक्र भएको राप्रपा, राप्रपा(प्रजातान्त्रिक) र एकीकृत राप्रपा(राष्ट्रवादी) पार्टीलाई कार्यकर्ताले यस्तो दबाब दिएको स्रोतले बतायो ।

भर्खरै सम्पन्न निर्वाचनमा आएको नतिजाको समीक्षा गर्दै फेरि नटुक्रिने प्रतिबद्धतासहित तीन पार्टी एकीकरण गर्नका लागि कार्यकर्ताले दबाब दिइरहेका छन् ।

यदि पार्टी एकीकरण नगरेको खण्डमा कार्यकर्ताको विकल्प कांग्रेस र एमाले हुनेमा कसैले पनि रोक्न नसक्ने चेतावनी दिइसकेका छन् ।
तीनै पार्टीका विद्यार्थी संगठन, महिला संगठन र युवा संगठनमा आबद्ध कार्यकर्ता र आन्तरिक रूपमा दोस्रो तहका नेताले पनि एकीकरणका लागि शीर्ष नेताहरूलाई दबाब दिइरहेका छन् ।

स्रोतले भन्यो– दोस्रो तहका नेता र युवापंक्तिमा पार्टीको अप्रत्याशित हारको प्रमुख कारण सत्तालिप्सा र पार्टी विभाजन हो, त्यो गल्ती सच्याएर एकीकरण गर्दै पार्टी पुनर्गठनमा जानुपर्छ भन्ने विषय अनौपचारिक बहसमा आएको छ । अहिले नै एकीकरणको प्रक्रिया सुरु गर्नका लागि कसरी शीर्ष तहमा दबाब दिने भन्ने कंक्रिट आकार आइसकेको छैन । माघ पहिलो सातासम्म त्यो आकार आइपुगेपछि हामी औपचारिक रूपमै नेताहरूलाई दबाब दिन्छौँ ।

शीर्ष नेताको अहंकार

युवा र दोस्रो तहका नेताहरू एकीकरणका लागि अनौपचारिक लबिङमा लागे पनि शीर्ष तहमा भने पार्टी एकीकरणका लागि कुनै प्रयास भएको छैन । पुनः पार्टी एकीकरण गर्ने विषयमा नेताहरुबीच कुनै छलफल नै भएको छैन । चुनावमा पराजित भए पनि शीर्ष नेताले पार्टीभित्र हारको समिक्षा गरेको पाइदैन ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा कमल थापाको नेतृत्वमा चुनावचिह्न ‘गाई’ लिएर लडेको राप्रपा नेपाल समानुपातिकतर्फ २४ सिट जित्दै संसद्को चौथो दल बनेको थियो ।

पशुपतिशमशेर राणा नेतृत्वमा ‘हलो’ चुनावचिह्न लिएर लडेको राप्रपा प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ नौ सिट गरी १२ सिट जितेर संसद्को सातौँ पार्टी बनेको थियो । त्यसपछि, सशक्त पार्टी बनाउन भन्दै ३० कात्तिक ०७३ मा दुई पार्टी एकीकरण भएर राप्रपा बन्यो ।

त्यो एकीकृत पार्टीको ६–९ फागुनमा सम्पन्न एकता महाधिवेशनमा कमल थापा अध्यक्षमा निर्वा्चित भए । तर, एकीकरणमा गरिएको सहमतिविपरीत पार्टी अघि बढेको भन्दै नेता प्रकाशचन्द्र लोहनीले २ चैत २०७३ मा राप्रपा राष्ट्रवादी गठन गरे ।

गत २२ साउनमा नेता पशुपतिशमशेर राणाले १७ सांसद र ६५ केन्द्रीय सदस्य लगेर राप्रपा प्रजातान्त्रिक गठन गरे ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा थापा नेतृत्वको राप्रपा ‘गाई’,

पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक ‘गोलाकारभित्रको हलो’ र डा. लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादी ‘चौकुनाभित्रको हलो’ चुनाव चिह्न लिएर छुट्टाछुट्टै चुनावी मैदानमा होमिए ।

राप्रपाले प्रतिनिधिसभामा झापा–३ मा एउटा सिट जित्यो । तर, अन्य दुई पार्टीले प्रत्यक्षतर्फ कतै पनि जित्न सकेनन्, न त निर्वाचन कानुनअनुरूप तीन प्रतिशत पुर्याएर राष्ट्रिय पार्टी नै बन्न सके ।

एकीकृत रूपमा निर्वाचनमा गएको भए राष्ट्रिय पार्टी बन्ने पक्कापक्कीजस्तै रहेको सम्बन्धित पार्टीका नेता÷कार्यकर्ताको बुझाइ छ ।
निर्वाचन आयोगका अनुसार छुट्टाछुट्टै लड्दा राप्रपाले एक लाख ९६ हजार सात सय ८२ र राप्रपा प्रजातान्त्रिकले ८८ हजार तीन सय ७७ मत ल्याएका छन् भने राप्रपा राष्ट्रवादीको मत आयोगले अन्यमा राखिदिएको छ । राप्रपाले प्रत्यक्षमा एउटा सिट जितेको छ ।

छुट्टा–छुट्टै लडेका दुई दलको मत जोड्दा मात्रै पनि दुई लाख ८५ हजार एक सय ५९ हुन्छ । प्रत्यक्षमा कम्तीमा एउटा सिट र समानुपातिकतर्फ खसेको मतको तीन प्रतिशत ल्याएमा राष्ट्रिय पार्टी बन्ने कानुन छ ।