आर्थिक

नेपालको उद्योग वाणिज्य क्षेत्रमा ओमानले सघाउने

काठमाण्डौ । ओमानका उद्योग तथा वाणिज्य सचिव अहमद हसन अल धिबले नेपालको उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ओमानका लागि नेपालका राजदूत शर्मिला पराजुलीसँग सोमबार भएको भेटमा उनले दुवै देशबाट आयात–निर्यात बढाउन सहकार्यका प्रशस्त सम्भावना रहेका बताएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओमानका वाणिज्य सचिवले नेपाली उद्यमी व्यवसायीलाई नेपालका उत्पादन ओमानमा बिक्री वितरणको प्रबन्ध मिलाउन आग्रह गर्नुका साथै ओमान–नेपाल व्यावसायिक सम्मेलन आयोजनाका निम्ति सघाउने बताए ।

भेटमा कृषि, भौतिक पूर्वाधार तथा जलस्रोत र उत्पादनमूलक क्षेत्रमा लगानीका प्रचुर सम्भावना रहेका जानकारी दिँदै राजदूत पराजुलीले ती क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

उनले नेपाली उत्पादनलाई भन्साररहित बजारसम्मको पहुँच उपलब्ध गराउन आग्रह गरे ।

उक्त दूतावासका अनुसार राजदूत पराजुलीले नेपालको पछिल्लो राजनीतिक परिवर्तन, निर्वाचनपछिको परिवर्तित सन्दर्भमा सामाजिक–आर्थिक विकासका निम्ति राजनीतिक दलहरुद्वारा व्यक्त प्रतिबद्धताबारे जानकारी दिए ।