राजनीति

मिडियामाथि खनिएका दाहालले पार्टी एकताबारे गरे यस्तो खुलासा

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चितवन बसाइले एकता प्रक्रियालाई अवरोध नपुर्‍याएको दावी गरेका छन् ।

मंगलबार कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष दाहालले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गरेरै चितवन बसेको बताए ।

अध्यक्ष प्रचण्डले केही मिडियाले गलत समचार सम्प्रेसण गरेको भन्दै मिडियालाई जिम्मेवार बन्न आग्रह समेत गरे । ‘म केपी ओलीजीसँग सल्लाह गरेरै यहाँ आएको हुँ’, उनले भने, ‘केही मिडियाले प्रचण्ड जिल्लामा अलमल गरेका कारण एकता प्रक्रिया अगाडि नबढेको समाचार सम्प्रेसण गरेका छन् । त्यो कुरामा कुनै सत्यता छैन ।’

उनले एकताका लागि तत्काल ठोस कार्यक्रम अगाडि नबढेका कारण आफू सल्लाहमै चितवन बसेको बताए । एकता प्रक्रिया छिट्टै अगाडि बढ्ने भन्दै उनले भने, ‘हामी एकताको प्रक्रियामा प्रवेश गरिसकेका छौँ, दुई पार्टीका बीचमा छिट्टै एकता हुन्छ ।’ उनले एकतामा शंका नगर्न पार्टी सबैमा आग्रह समेत गरे ।

उनले निर्वाचन आयागले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्नुअघिको समय सदुपयोग गर्न आफू जिल्लामा रहेको बताए ।

अध्यक्ष प्रचण्डले कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको विवाद सल्टाउन आफूले सक्दो पइास गरिरहेको बताए । उनले भने, ‘एउटा सेन्टर अफ एक्सिलेन्सका रुपमा यो विश्वविद्यालयलाई विकास गर्नुछ त्यसका लागि म निरन्तर रुपले लागिरहेको छु र लागि नै रहनेछु ।’