अन्तर्राष्ट्रिय

रुसी विपक्षी नेताद्वारा निर्वाचान बहिस्कारको अपिल

मस्को । रुसका विपक्षी नेता एलेक्से नभाल्नीले रुसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिस्कार गर्न रुसी जनतासमक्ष अपिल गरेका छन् ।

यहाँको निर्वाचन आयोगले उनलाई राष्ट्रपतिमा उठ्न वञ्चित गरेको छ । आफूलाई भ्लादिमिर पुटिनका विरुद्धमा उक्त चुनावमा उठ्न वञ्चित गरेपछि उनले अरुलाई पनि निर्वाचन बहिष्कार गर्न आह्वान गरेका हुन् ।

उनले प्रमुख विपक्षी विनाको चुनावको वैधानिकता पनि नहुने बताए । त्यसैले उनले मतदाताहरुलाई पनि सो अवैध निर्वाचनको विरोध जनाउन आह्वान पनि गरेका छन् ।

रुसको निर्वाचन आयोगले नभाल्नीलाई फौजदारी अभियोगमा दोषी ठहराइएको भन्दै राष्ट्रपतिको उम्मेदवार बन्न पनि अयोग्य ठहराएको जानकारी हालैमात्र दिएको थियो ।

रुसमा पुनः यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपतीय निर्वाचनमा उठ्न लागेका छन् । उनी यस पटक चौथो कार्यकालका लागि राष्ट्रपतिमा उठ्न लागेका हुन् ।

नभाल्नि ४१ वर्षको मात्र छन् । उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनको एक बलियो चुनौतीका रुपमा हेरिएको थियो । पुटिनलाई चुनौती दिनसक्ने एकमात्र उम्मेदवारका रुपमा उनलाई हेरिएकोमा निर्वाचन आयोगले नै अयोग्य ठहराइदिएको छ– एकजना राजनीतिक विश्लेषकले बताएका छन् ।

उनलाई केही समयअघि लगाइएको भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहरिएको भनेर रुसको निर्वाचन आयोगले चुनावमा उठ्न नपाउने निर्णय दिएको थियो ।

तर त्यो आरोपको उनले ठाडै खण्डन गरेका छन् । उनले निर्वाचन आयोगले आफूविरुद्ध लगाएको अभियोग राजनीतिक रुपमा प्रेरित भएको र त्यो सबै राष्ट्रपति पुटिनको निर्देशनमा भएको जानकारी दिए ।

निर्वाचन आयोगको यो निर्णयका विरुद्धमा रुसी नागरिकले विरोध प्रदर्शन गर्ने चतावनी पनि उनले दिएको बताइएको छ । उनले यो चुनाव नभई पुटिनका पक्षधरहरुले मात्र भागलिने राजनीतिक कार्यक्रम भएको पनि आरोप लगाए ।

पुटिनका समर्थकहरुले मनोनयन प्रक्रियाका लागि मंगलबार एकजुट हुन लागेका छन् । नभाल्नीले आफूले पनि विपक्षीका तर्फबाट सो निर्वाचनको विरोधमा प्रदर्शनको नेतृत्व गर्ने पनि उनले जानकारी दिए ।