कृषि

कृषि विभागका उपमहानिर्देशकद्वारा कार्यालयको अनुगमन

कञ्चनपुर । कृषि विभागका उपमहानिर्देशक सूर्यप्रसाद पौडेलले नयाँ संरचनामा (संघीयतामा) कृषि कार्यालयलाई कसरी समायोजन गर्नेबारे जानकारी लिन जिल्लाका विभिन्न कार्यालयको अवलोकन गरेका छन् ।

उपनिर्देशक पौडेलले कृषि विकास कार्यालय, प्लान्ट क्वारेन्टाइन कार्यालय, महेन्द्रनगरस्थित तरकारी बजार, क्षेत्रीय कृषि तालीम केन्द्र, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, क्षेत्रीय माटो परीक्षण प्रयोगशाला, बेलौरीस्थित कृषि सेवा केन्द्र र कैलालीको त्रिनगर भन्सार नजिकै रहेको प्लानट क्वारेन्टाइन कार्यालयको अवलोकन गरेका हुन् ।

“सबै कार्यालयमा कर्मचारी अभाव रहेको पाइयो, स्थानीय तहमा समायोजन गरिएपछि कार्यालय सञ्चालन गर्न गाह्रो भएको रहेछ”, उनले भने । कृषि कार्यालयसँग असार महिनासम्मका लागि योजना र केही बजेट भएकाले तत्काल समायोजन हुने सम्भावना नरहेको उनको भनाइ थियो । मन्त्रालयबाट पत्र आउनासाथ कार्यालय समायोजन हुने उनले बताए ।

“केही महिनाभित्रै कृषि सेवा केन्द्र हस्तान्तरण गर्दैछौँ,” पौडेलले भने । प्लान्ट क्वारेन्टाईन कार्यालय गड्डाचौकीमा एकजना सुब्बा र एक जना अधिकृत, त्रिनगरमा एकजना प्राविधक सहायकको भरमा कार्यालय सञ्चालन तथा क्षेत्रीयस्तरका कृषि विभागअन्तर्गतका कार्यालयमा कर्मचारीले काज मिलाएर अन्य कार्यालयमा जाने प्रचलनका कारण कर्मचारी अभाव रहेको पाइएको उनले बताए ।

“कार्यालय समायोजनपछि सबै कार्यालयमा कर्मचारी पदपूर्ति हुन्छ,” उनले भने । आज उनले कैलालीस्थित कृषिसँग सम्बन्धित कार्यालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

धान उत्पादनमा वृद्धि

कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादनमा आठ हजार ८८ मेट्रिक टनले वृद्धि भएको हो ।

यस वर्ष ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा एक लाख ६७ हजार ३११ मेट्रिक टन उत्पादन भएको निमित्त वरिष्ठ कृषि विकास अधिकृत देवीदत्त कलौनीले बताउनुभयो । गत वर्ष ४८ हजार ३४५ हेक्टरमा एक लाख ५९ हजार २२३ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा धान लगाउने जग्गाको क्षेत्रफल १४८ हेक्टरले वृद्धि भएको छ भने प्रतिहेक्टर ३.४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

“उन्नतजातका धानको बीउ, समयमै मल, कीटनाशक औषधि उपलब्ध भएका कारण धान उत्पादनमा वृद्धि भएको हो”, कलौनीले भने । यहाँ खेती गरिने कूल क्षेत्रफलको ५५ प्रतिशत जग्गामा धानखेती हुने गरेको छ ।