राजनीति

पार्टी एकीकरण गरेर मोहन वैद्य र नेत्रविक्रम चन्द के गर्न खोज्दैछन् ? यस्तो छ योजना !

काठमाण्डौ । मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) ले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । उसले समाजवाद तथा साम्यवादमा जान चाहने कम्युनिस्ट समूहहरुको एकतामा जोड दिँदै वार्ता तथा संवाद अघि बढाउने निर्णयसमेत गरेको छ ।
पुस ६ गतेदेखि ९ गतेसम्म चलेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै वैद्य माओवादीले संगठन विस्तार र जनपरिचालनसम्बन्धी तीन महिने अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा वैद्य माओवादीले भाग लिए पनि उसले कुनै पनि क्षेत्रमा जमानत जोगाउन सकेको थिएन । तर, उसको केन्द्रीय समिति बैठकले निर्वाचन उपयोगको नीतिमा पार्टी सही सावित भएको निष्कर्ष निकालेको छ । यद्यपि, उसले निर्वाचन प्रक्रियामा सहभागी हुँदा कमी कमजोरी भएको स्वीकारेको छ । तर, पार्टीले गरेको कमजोरी के हो भन्नेबारेमा केही पनि खुलाएको छैन ।

बैठकले पोलिटव्युरो र स्थायी समिति सदस्यको चयन गर्नुका साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजनसमेत गरेको जनाएको छ ।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनले संक्रमणकाल अन्त्य गरेको मुख्य राजनीतिक दलहरुले बताइरहेका बेला वैद्य माओवादीले भने नेपालमा प्रतिक्रान्तिको अर्को अध्याय सुरु भएको बताएको छ ।

उसले प्रतिक्रान्तिको खतरा बढेको दाबी गर्दै त्यसको समाधानबारे भनेको छ, ‘ वास्तविक अर्थमा नेपालमा प्रतिक्रान्तिको अर्को अध्यायको थालनी भएको छ । हामीले प्रतिक्रान्तिको यस अध्यायको अन्त्य र नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि विशेष परिश्रम गर्न जरुरी छ ।’

मार्क्सवाद–लेनिनवाद–माओवादको पदचाप पछ्याउँदै समाजवाद तथा साम्यवादमा जान चाहने कम्युनिस्ट समूहहरुसित एकताको प्रयास गर्ने निर्णयसमेत क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकले गरेको छ ।

‘सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गर्ने उद्देश्यमाथि जोड दिँदै मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादमा जान चाहने कम्युनिस्ट समूहहरुसित वार्ता संवादको प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक पहल गर्ने निर्णय लिइएको छ,’ नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विद्रोही पार्टीको रुपमा चिनिएको छ । उसका हरेक गतिविधिले शान्ति सुरक्षामा असर गर्नेछ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन बहिस्कार गरेको यो पार्टीसँग एकता गरेर मोहन वैद्य फेरि पनि क्रान्तिकारी धारमा उभिएका छन् । यो दुई पार्टीबीचको मेलले राज्य र सुरक्षा निकायमाथि सुरक्षा चुनौति थपिदिएको छ ।

राज्यले सम्मानजनक स्थान नदिएको भन्दै विद्रोहमा उत्रिएको छ । नेकपा माओवादीबाट फुटेर गएका यी दुई पार्टीको एकतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।