पु.समाचार

यस्तो छ, पाँच वर्षभित्र नाम र काम गर्ने मेयर सापकोटाको ठोकुवा

गुल्मी । मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले गाउँवासीबाट नाम मात्रको नगरवासी भएको तर अबको पाँच वर्षभित्र काम र नाम दुवैले नमूना नगरपालिका बनाएर छाड्ने दाबी गेका छन् ।

मुसिकोट नगरपालिका–१ को थामडाँडा शहरी स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै प्रमुख सापकोटाले यस्तो बताएका हुन्। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रमुख सापकोटाले अहिलेको समयमा राजनीतिक लडाइँ समाप्त भएको र सबै पक्ष मिलेर देशको विकास र समृद्धिका लागि अगाडि बढ्नु पर्ने बताए ।

साथै, प्रमुख सापकोटाले नगरले विकास निर्माणका पूर्वाधारअन्तर्गत मोटरबाटो, खानेपानी, विद्युत्, शिक्षासँगै स्वास्थ्य क्षेत्रलाई समेत जोड दिएर काम अगाडि बढाइएको समेत बताए ।

प्रमुख सापकोटाले आगामी पाँच वर्षभित्र सबै वडावासीले आभाष गर्ने गरी विकासका पूर्वाधारले सम्पन्न बनाउन आफू निरन्तररुपमा अगाडि बढ्ने बताए ।

सापकोटाले आजैदेखि सरकारी स्वास्थ्यचौकीसरह उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य उपचारका सेवा तथा सुविधा अब शहरी स्वास्थ्य केन्द्रबाटै स्वास्थ्य उपचारको सेवा सुविधा आफ्नै घर नजिकै आएकाले उक्त स्वास्थ्य केन्द्रबाट अधिकतम सेवा र सुविधा लिन स्थानीय बासिन्दालाई आग्रह गरे ।

उक्त स्थानमा स्वास्थ्य चौकी नहुँदा सामान्य उपचारको लागि पनि टाढाटाढा गएर आफ्नो स्वास्थ्योपचार गर्नुपर्ने बाध्यता रहेको अवस्थामा नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत थामडाँडा शहरी स्वास्थ्य केन्द्रको स्थापनासँगै स्वास्थ्य उपचार शुरु गरिएको छ ।

यता आफ्नो घर नजिकै थामडाँडामा स्वास्थ्य केन्द्रमार्फत अब भने झण्डै ४०० घरधुरीका स्थानीय बासिन्दाले प्रत्यक्षरुपमा स्वास्थ्योपचारको सेवा सुविधा पुग्ने सरस्वति माविका पूर्वप्रधानाध्यापक भिमलाल घिमिरेले जानकारी दिए ।

हाल केन्द्रमा एक अहेब र एक अनमी गरी दुईजना स्वास्थ्यकर्मीले सेवा दिने नगर जनस्वास्थ्य संयोजक ढालबहादुर जिसीले जानकारी दिए ।