पु.समाचार

कञ्चनपुरमा मानवअधिकार उल्लंघनका ७५ घटना

कञ्चनपुर । इन्सेक कञ्चनपुरले गरेको अध्ययनअनुसार कञ्चनपुरमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका ७५ वटा घटना भएका छन् ।

इन्सेक, कञ्चनपुरले गरेको अध्ययनअनुसार सन् २०१७ मा मानवअधिकार उल्लंघनका ७५ घटना घटेको पाइएको हो । सबैभन्दा बढी घरेलु हिंसाका ४८, हत्याका पाँच, नागरिक अधिकार हननको एक, गैरकानूनी रुपमा पक्राउको एक, बालअधिकार हननका सातवटा घटना अध्ययनका क्रममा देखिएको इन्सेक कञ्चनपुरका संयोजक कोमल निरञ्जन भाटले बताए ।

उनका अनुसार बलात्कारका तीन, बहुविवाहको एक, सम्पत्ति क्षतिका आठ र अमानवीय व्यवहारको एक घटना भएको छ । डरलाग्दो रुपमा मानवअधिकार उल्लंघनका घटनामा घरेलु हिंसा घट्नुको साटो बढ्दै गएको छ । उनले भने, “यसको न्यूनीकरणका लागि सबैको हातेमालो हुनु जरुरी छ ।”

मानवअधिकार संरक्षणका लागि सबै निकाय उत्तिकै जिम्मेवार बने मात्रै समाजमा शान्ति कायम हुनसक्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक ज्ञानबहादुर सेठीले वास्तविक घटना बाहिर नआउने प्रवृत्तिका कारण पीडितले न्याय पाउनबाट वञ्चित रहनुपरेको बताए।