राजनीति

विविधताको सम्मान गर्न धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको होः नेता नेपाल

काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आगामी वाम गठबन्धनको सरकार सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताएका छन् ।

यशु ख्रिस्टको जन्मोत्सवको उपलक्ष्यमा राष्ट्रिय ख्रिस्टियन महासंघ, नेपालद्वारा आयोजित सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले नयाँ सरकारले निर्वाचनमा भएको हार र जीतको विषयलाई छाडेर सबैलाई साथमा लिएर काम गर्ने दृढता व्यक्त गरे ।

नेता नेपालले भने, “विकास र समृद्धिलाई केन्द्रविन्दुमा राख्दै नेपाली भएकामा गौरव गर्ने, सबैप्रति मर्यादा कायम गर्ने, कसैप्रति भेदभाव र आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा आगामी सरकारले ध्यान पु¥याउने छ ।

मुलुकको विविधताको सम्मान गर्न धर्म निरपेक्षको घोषणा गरिएको बताउँदै उनले सबै जातजाति, धार्मिक समुदायको मूल भावनाको कदर गरी मुलुक सबैको साझा हो भन्ने भावनाले मिलेर बन्ने नेपाल र नेपालीको साझा पहिचान र विशेषता भएको धारणा राखे ।

सो अवसरमा रक्षामन्त्री भीमसेन दास प्रधानले मुलुकको राजनीतिक परिवर्तनका लागि भएको विभिन्न आन्दोलनको उपलब्धिका रुपमा प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबैले मलजल गरेर हुर्काउनुपर्छ भने ।

“नेपाली जनताको अहिलेको चाहना भनेको सुशासन र आर्थिक समृद्धि रहेकाले मुलुकलाई त्यसतर्फ लैजाने मार्गमा सबै राजनीतिक दल एकमत हुन आवश्यक छ”, उनले भने ।

नेकपा (एमाले)का नेता गंगालाल तुलाधरले समाजमा रहेका सबै खाले विचार र आस्थाले समान रुपले सम्मान पाउनुपर्छ भन्नेमा राजनीतिक दल र सरकार सजग रहनुपर्छ भने ।

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले संविधानको पूर्ण कार्यान्वयनसँगै समृद्धि र विकासमा अघि बढ्न यशुलगायत सबैबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे।

नेपाली काँग्रेसका युवानेता रामहरि खतिवडाले निर्वाचनको परिणाममा हार–जीत भए पनि मुलुक बनाउने मार्गमा सबैको जीत होस् भने कामना व्यक्त गरे ।

आयोजक संस्था राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले मुलुकमा १२ हजारको सङ्ख्यामा चर्च रहेको र ११२ भन्दा बढी मुलुकमा रहेका÷बसेका नेपालीले क्रिसमसलाई हर्षोल्लासका साथ मनाउने गरेको बताए ।

नेपाललाई सबै जातजाति, भाषा, धर्म र समुदायको साझा फूलबारी बनाउने सन्दर्भमा क्रिसमसमा राष्ट्रिय बिदा दिने परम्पराको थालनी गरेकोमा उनले नेपाल सरकारप्रति आभार व्यक्त गरे ।

सो अवसरमा राष्ट्रिय ख्रिस्टियन महासंघ नेपाललाई विभिन्न कोणबाट सहयोग पु¥याएबापत उक्त संस्थाका तर्फबाट पूर्वप्रधानमन्त्री नेपाल र रक्षामन्त्री प्रधानलाई सम्मान गरियो ।

समारोहमा संस्थाका सहअध्यक्ष पास्टर डा फिलोमोन क्षत्रीले यशुसम्बन्धी प्रवचन तथा कलाकारले यशु बन्दना र नृत्य प्रस्तुत गरेका थिए ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमसको उपलक्ष्यमा पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।