पर्यटन/संस्कृति

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरण शुरु

पोखरा । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ आजदेखि अन्नपूर्ण गाउँपालिकाको छोम्रोङमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरण शुरु भएको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा शुरु भएको सो महोत्सव पुस १५ गते सम्म चल्ने छ ।

महोत्सवको कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद जगत विश्वकर्माले आज उद्घाटन गर्दै अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गलाई थप व्यवस्थित गर्न आपूmले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

छोम्रोङ र उरी जोड्ने गरी रोप वे निर्माणका लागि अध्ययन थाल्न योजना ल्याउने पनि उनले बताए ।

युवा संघ नेपालका केन्द्रीय अध्यक्ष एवं क्षेत्र नं ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य राजीव पहारीले विश्वकै पर्यटकीय गन्तव्य बोकेको पोखरा र यस आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विविध कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेलकुद क्षेत्र पर्यटन प्रवद्र्धनको मेरुदण्ड भएकाले यस क्षेत्रलाई ‘हाई अल्टिच्युड’ खेलकुद केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिदैं पोखरालाई खेलकुदको राजधानी बनाउने योजना अघि बढिरहेको जानकारी दिए ।

उनले पोखरा आसपासका पर्यटकीय क्षेत्रमा साहसिक खेलको विकास गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरे ।

महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य दीपक गुरुङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्म गुरुङ, एमाले कास्कीका सचिवालय सदस्य दीपक पौडेल, क्षेत्रीय अध्यक्ष विष्णुबहादुर केसी लगायतका वक्ताले महोत्सवका विविध पक्षबारे प्रकाश पारे ।

यसअघि स्थानीय आमा समूहले कलाशैली र परम्परागत संस्कृतिको झाँकी प्रदर्शनी गरेका थिए ।

महोत्सवमा खुला महिला तथा पुरुष भलिबल, बास्केटबल प्रतियोगिता, विशेषज्ञ चिकित्सकहरुद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, घैँटो फुटाउने प्रतियोगिता, पर्यटनसम्बन्धी डकुमेन्ट्री प्रदर्शन, सिर्जनशील कलाकार समूह पोखराको सहभागितामा कला कार्यशाला र बनाइएका चित्रको प्रदर्शनी लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।

पहिलो चरणअन्तर्गत गत असोज २५ गते अन्नपुर्ण आधार शिविरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सम्पन्न भएको थियो ।