साहित्य

लेखनाथ पत्रकारिता पुरस्कारबाट पत्रकार तिमिल्सिनालाई सम्मान गरिने

पोखरा । यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कारबाट पत्रकार रामप्रसाद तिमिल्सिनालाई सम्मान गरिने भएको छ ।

लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित सो पुरस्कारको राशि रु ११ हजार १११ र सम्मानपत्र रहेको छ । मञ्चका सल्लाहकार भरतप्रसाद तिवारीको संयोजकत्वमा गठित छनोट समितिको आज बसेको बैठकले तिमिल्सिनालाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो ।

छनोट समितिमा पोखरा–लेखनाथ महानगरपालिकाका कानून अधिकृत राममणि अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, मञ्चका अध्यक्ष भीमपाणि बराल र सचिव विष्णुहरि पौडेल थिए ।

साबिक लेखनाथ नगरपालिकाको स्थायी बासिन्दा भई एक दशक लामो समयसम्म पत्रकारिता गर्दै आएका स्रष्टालाई उक्त पुरस्कारबाट सम्मान गरिने बताइएको छ । पुरस्कृत व्यक्तित्व तिमिल्सिना नेपाल पत्रकार महासंघ कास्की शाखाका सचिव हुन् । यसअघि उक्त पुरस्कारबाट पत्रकार मेघनाथ आचार्यलाई सम्मान गरिएको थियो ।

यही पुस १५ गते लेखनाथको अघौंअर्चलेमा हुने कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा मनाइने लेखनाथ जयन्तीक मूल समारोहमा सो पुरस्कार वितरण गरिने कार्यक्रम छ ।