पु.समाचार

ढिलाइको पनि नमूनाः भूकम्पको ३२ महिनापछि राहत व्यवस्थापन

नुवाकोट । नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको राहत सामग्रीको व्यवस्थापन लामो समयपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले व्यवस्थापन गर्न शुरु गरेको छ ।

पीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री तत्कालीन समयमा वितरण स्थानको छनोटमा उत्पन्न विवादले थन्क्याएको ३२ महिनापछि सोमबारदेखि सुरक्षित व्यवस्थापन शुरु गरेको हो ।

भण्डारण गरिएको राहत विसं २०७२ को वैशाख र जेठ महिनामा प्राप्त भएको थियो । तत्कालीन समयमा प्रशासक र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो ।

भूकम्पपीडितलाई वितरण गर्न जिल्लामा आएको राहत सामग्री विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको स्थानबाट सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।

“भूकम्पलगत्तै प्राप्त भएको रु पाँच करोडभन्दा बढी मूल्यको राहत सामग्री व्यवस्थित भण्डारणको अभाव र राखिएको लामो समयसम्म परीक्षण नहुँदा खाद्य सामग्रीको म्याद गुज्रिएको छ,” शर्माले भने, “बन्दोबस्तीका सामग्रीसमेत आधाभन्दा बढी प्रयोगविहीन अवस्थामा पुगेको पाइएकाले छनोट गर्न शुरु गरिएको छ ।”

लामो समय चिसो भुइँमा थन्क्याएर बन्द कोठामा भण्डारण गरिएका कारण खाद्य सामग्री कुहिएको र लत्ताकपडा तथा भाडावर्तनसमेत प्रयोग गर्न नमिल्ने भएका छन् ।

भण्डारण गरिएका राहत सामग्रीमा विदेशी दाताबाट प्राप्त गुणस्तरीय टेन्ट, त्रिपाल, तयारी पोशाक, भाँडावर्तन, औैषधिलगायत रहेका छन् । राहत सामग्री छनोटको काम पूरा हुन एक साता लाग्ने जिल्ला समन्वय समितिका अधिकृत उपेन्द्र प्याकुरेलले जानकारी दिए ।