सूचना प्रविधि

सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण

दमौली, तनहुँ । सञ्चारको क्षेत्रमा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

‘समुदायद्वारा समुदायका लागि सामुदायिक रेडियो’ भन्ने नाराका साथ सञ्चालित तनहुँकै पहिलो सामुदायिक रेडियो मादीसेती एफएमको नवौँ साधारणसभा एवं चौथो अधिवेशनका अवसरमा सोमबार दमौलीमा आयोजित कार्यक्रममा वक्ताले सो कुरामा जोड दिएका हुन् ।

ग्रामीण क्षेत्रका बासिन्दालाई सुसूचित गर्न रेडियो बढी प्रभावकारी मानिएको भनाइ उनीहरुको थियो । सामुदायिक रेडियोलाई बचाउन राज्य पक्षसमेत गम्भीर बन्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

कार्यक्रममा एफएमका संस्थापक अध्यक्ष अशोककुमार श्रेष्ठले सञ्चार क्षेत्रको विकासमा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

मादीसेती एफएमका अध्यक्ष हरिवंश वाग्लेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एफएमकी उपाध्यक्ष सरिता गुरुङ, सचिव देवकुमार श्रेष्ठ, सहसचिव माधव न्यौपाने, स्टेशन मेनेजर ओमकार आचार्यलगायतले यस्ता रेडियोलाई जीवन्त राख्न शेयर सदस्य, व्यवस्थापन समिति र कर्मचारी एक भएर लाग्नुपर्ने बताए । सो अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ ।