राजनीति

लण्डनमा उपचार गराइरहेका डा उपेन्द्र देवकोटालाई राष्ट्रपतिले पटक–पटक फोन गरेर के भनिन् ?

काठमाण्डौ । लण्डनमा उपचार गराइरहेका बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे राष्ट्रपति विद्या भण्डारीले जानकारी लिएकी छन् । सोमबार अपरान्ह डा देवकोटालाई दुई पटक फोन गरी राष्ट्रपतिले देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी हुन् ।

सुरुमा राष्ट्रपति भण्डारीका जनसम्पर्क अधिकृत हीरामणि आचार्यको डा देवकोटा पत्नी मधुसँग राष्ट्रपतिको कुराकानी भएको थियो । केही मिनेट श्रीमति देवकोटासँग कुराकानी गरेपछि राष्ट्रपति–डा देवकोटाबीच कुराकानी भएको थियो ।

सुरुको कुराकानी ७ मिनेट भएको थियो भने दोस्रो कुराकानी १२ मिनेट भएको थियो। राष्ट्रपतिलाई डा देवकोटाले भनेका थिए, ‘मलाई क्यान्सर भएको होइन, पित्त थैलीमा समस्या देखिएको हो।अहिले स्वास्थ्यमा सुधार भइरहेको छ। म ठीक छ, चिन्ता लिनुपर्ने स्थिति छैन ।’

डा देवकोटालाई क्यान्सर भएको भन्दै डा भोला रिजाल लगायतको एउटा समूहले आइतबार पशुपतिमा द्वीप प्रज्वलन समेत गरेको थियो । बुझ्दै नबुझी क्यान्सर भएको भनेर चलाइएको हल्लाप्रति डा देवकोटा परिवार असन्तुष्ट छ ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लण्डनस्थित नेपाली राजदूताबासमार्फत् डा देवकोटाको स्वास्थ्यबारे जानकारी लिएकी थिइन ।