आर्थिक

पूर्वविद्यार्थीको पुनर्मिलनबाट म्याग्दीमा एक करोड संकलन

म्याग्दी । धार्मिक क्षेत्रमा जस्तै सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौँ शैक्षिक संस्थामा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञ सम्पन्न भइसकेका छन् । सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्यम बनेको महायज्ञबाट ठूलो रकम संकलन भए पनि खर्च कटाउँदा न्यून बचत हुने गरेको सन्दर्भमा यहाँको एक विद्यालयले फरक शैली अपनाएर करोडौँ रकम संकलन गरेको छ ।

बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माध्यमिक विद्यालयले विद्यालयको चौतर्फी विकासमा सहयोग जुटाउन विद्यालयका पूर्वविद्यार्थी, शिक्षक र शुभचिन्तकको पुनर्मिलन कार्यक्रममार्फत रु एक करोड भन्दा बढी सहयोग जुटाएको हो । पुस ७ र ८ गते विद्यालयमा आयोजना गरिएको सो कार्यक्रममा विद्यालयमा अध्ययन र अध्यापन गराएर विभिन्न सिलसिलामा स्वदेश तथा विदेशमा पेशा व्यवसाय गर्दैआएका व्यक्तिबीचमा भेटघाटको अवसर जुरेको थियो ।

सो अवसरमा विद्यालयका पूर्वविद्यार्थी, शिक्षक र शुभचिन्तकले खुशी साटासाट मात्रै गरेनन्, उनीहरुले विद्यालयका लागि रु एक करोड ११ लाख सहयोग रकम समेत जुटाए । जिल्लामा एकमात्रै बहिरा स्रोत कक्षा सञ्चालन गरेको विद्यालयले चालू शैक्षिक सत्रदेखि शुरु गरेको कक्षा ११ र आगामी वर्ष शुरु हुने कक्षा १२ को पठनपाठनलाई व्यवस्थित गर्न र प्राविधिक शिक्षासमेत थाल्न आर्थिक संकलन गर्ने उद्देश्यले पुनर्मिलनको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काले बताए ।

ण्ज्ञघघपूर्वविद्यार्थीबाट उत्साहपूर्णरुपमा सहयोग प्राप्त भयो, अभिभावक, शुभचिन्तक र पूर्वशिक्षकले समेत विद्यालयको भौतिक र शैक्षिक विकासका निम्ति खुलेरै सहयोग गरेका छन्, यो सहयोग रकमलाई कोषको रुपमा स्थापित गर्छौं, आगामी दुई÷दुई वर्षमा समेत यस्तै पुनर्मिलन कार्यक्रम गर्ने हाम्रो योजना छ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले भने । विसं २०१८ मा स्थापना भएको यस विद्यालयबाट अहिलेसम्म करिब तीन हजार विद्यार्थीले अध्ययन सक्याए । उनीहरु सबैलाई कुनै न कुनै माध्यमबाट विद्यालयसँग जोड्ने योजनाअनुसार पुनर्मिलन कार्यक्रमलाई निरन्तरता दिन दिएको मूल संयोजक मोहनप्रसाद रेग्मीले बताए ।

समुदायको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयले यसै वर्षदेखि कक्षा ११ को पठनपाठन शुरु गरिसकेको छ । आगामी वर्ष कक्षा १२ र निकट भविष्यमै प्राविधिक शिक्षासमेत सञ्चालन गर्ने विद्यालयको योजना छ । कक्षा ११ र १२ सञ्चालन गर्न मासिक रु दुई लाख खर्च हुने भएपछि विद्यालयले अक्षय कोषको रुपमा राखेर ब्याज रकमबाट खर्च जुटाउन न्यूनतम रु दुई करोडको कोष बनाउने योजना अघि सारेको हो ।

विद्यालयको स्तरवृद्धि गर्दै जाँदा आइपरेको आर्थिक संकटलाई समाधान गर्न विद्यालयकै शैक्षिक उत्पादनलाई सदुपयोग गर्ने नीति अवलम्बन गरिएको प्रधानाध्यापक डण्डपाणि सापकोटाले बताए । ‘सरकारी तवरबाट आउने अनुदानले मात्रै विद्यालय सञ्चालन हुनसक्ने अवस्था छैन, त्यसलै विद्यालयका पूर्व विद्यार्थी र शुभचिन्तकलाई जिम्मेवार बनाउँदै उहाँहरुबाट सहयोग जुटाउन थालेका हौँ’, प्रअ सापकोटाले भने ।

विद्यालयमा दुई दिनसम्म सञ्चालन भएको पुनर्मिलन कार्यक्रममा विविध कारण स्वदेश तथा विदेशका विभिन्न ठाउँमा पुगेका पूर्व विद्यार्थी, शिक्षक तथा विद्यालयका शुभचिन्तकले विद्यालयको चौतर्फी विकासका बारेमा समेत छलफल गरे । सो अवसरमा विद्यावारिधि गर्न सफल विद्यालयका पूर्व विद्यार्थी डा मीनबहादुर श्रेष्ठ, डा टीकाबहादुर कार्की, डा जीवन बानियाँ र डा चक्रबहादुर बुढाथोकीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक विकासका लागि शुरु गरिएको आर्थिक संकलन अभियानमा विद्यालयका पूर्व विद्यार्थीले उदार मनले सहयोग गरेको छ ।

पुनर्मिलन कार्यक्रममा विद्यालयलाई आफ्नो परिवारका तर्फबाट रु तीन लाख तीन हजार ३३३ आर्थिक सहयोग गरेका विद्यालयका पूर्व विद्यार्थी डा जीवन बानियाँले जीवनको शुरुवातमा शिक्षा दिने विद्यालयप्रति आफूहरुको उत्तरदायित्व कहिल्यै पूरा नहुने बताए । विद्यालयले अभियान सञ्चालन गरेदेखि नै आर्थिक संकलन जुट्न थालेको थियो । सो अभियानमा हाल न्यूजिल्याण्डमा रहेका बेनी नगरपालिका–४ बास्कुना निवासी पूर्वविद्यार्थी लालबहादुर केसीले आफ्नो हजुरआमा गौमती केसीको नाममा रु २५ लाखको अक्षयकोष स्थापनाको घोषणा गरे । सो कार्यक्रममा दाता केसीको हजुरआमा गौमतीसहित उनको परिवारलाई विद्यालयले भव्य स्वागत तथा सम्मान गरेको थियो ।

त्यस्तै, सिंगा निवासी लालबहादुर खत्री र कमलकुमारी भट्टचनको परिवारले रु पाँच लाख ५५ हजार ५५५ को दरले आर्थिक सहयोग गरेका छन् । त्यसैगरी, चन्द्रबहादुर बानियाँको परिवारबाट रु तीन लाख तीन हजार ३३३, लक्ष्मीदेवी श्रेष्ठको परिवारबाट रु तीन लाख ३० हजार, जितबहादुर बुढाथोकीबाट रु दुई लाख २२ हजार २२२, दिलकुमारी सापकोटाबाट  दुई लाख प्राप्त भएको छ । कार्यक्रममा अन्य पूर्वविद्यार्थी, शिक्षक तथा अभिभावकबाट समेत लाखौँ आर्थिक सहयोग भएको थियो । विद्यालयले आर्थिक सहयोग गर्ने दातालाई भव्य सम्मानसमेत गरेको थियो । सामुदायिक विद्यालय सञ्चालनमा आर्थिक स्रोत जुटाउन धौलागिरि माविले गरेको प्रयास अनुकरणीय देखिएको विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बताए ।

‘यो विद्यालयकै कारण हामीले शिक्षाको भविष्य देखेका हौँ, यसको विकासका निम्ति हामी सबैको दायित्व हुन्छ, विद्यालयले आयोजना गरेको पुनर्मिलन कार्यक्रमले पूर्व विद्यार्थी र शिक्षकमा विद्यालयप्रतिको उत्तरदायित्व बढाएको छ’, कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा श्रेष्ठले भने । धौलागिरि माविले गरेको यस कार्यक्रमले पर्याप्त सरकारी अनुदान नपाएर आर्थिक संकट झेल्दै आएका सामुदायिक विद्यालयका लागि आपनै विद्यार्थी भरपर्दा सहयोगी हुनसक्छन् भन्ने प्रमाणित गरिदिएको छ ।