पु.समाचार

प्रहरीको पत्रचारप्रति प्रेस युनियनको ध्यानाकर्षण

काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाण्डौले केही पत्रकारसंग सम्बन्धित कागजात उपलब्ध गराइदिन गरेको पत्राचारप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनले आज एक विज्ञप्तिमार्फत केही सञ्चार माध्यममा तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको सक्कली र नक्कली भनिएका कार्यसम्पादन मूल्यांकन प्रकाशित भएको सन्दर्भमा सोको स्रोत समेत खुलाइ कागजात उपलब्ध गराइदिन गरिएको पत्राचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

‘स्वतन्त्र प्रेसले समाजको विभिन्न विषयमा आफ्ना स्रोतबाट प्राप्त सामग्रीलाई प्रस्तुत गर्न सक्छ र यसको स्रोत खोल्न बाध्य पारिने छैन भन्ने मान्यतालाई यो पत्रले ठाडै उलंघन गरेको छ’ महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्मानित अदालतले अनुसन्धान गर्न दिएको आदेशपछि अनुसन्धान गर्नुपर्ने निकाय प्रहरीले आफ्नो सहजताको लागि सञ्चारमाध्यमलाई स्रोत खोल्न भन्नुभन्दा सो प्रकरणमा आरोपित र त्यस प्रकरणबाट फाइदा पाउने पक्षलाई नै अनुसन्धानको दायरामा ल्याएर बुझ्दा नै उपयुक्त हुने युनियनको ठहर छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मूल्य र मान्यता, नेपालको संवैधानिक र कानूनी प्रावधानको मान्यताविरुद्ध पत्रकारलाई निरुत्साहित गर्ने ढंगले उहाँहरुको काममा अवरोध नपु¥याउन युनियनले सम्बन्धित सबैलाई सचेत हुन अग्रह गरेको छ ।