पु.समाचार

सहसचिव र सचिवबीच विवाद, वन मन्त्रालयका प्रमुख कार्यालय छाडेर हिंडे

काठमाण्डौ । पदस्थापन गर्न दबाब दिएपछि वन मन्त्रालयका प्रशासन शाखाका प्रमुख सहसचिव ज्ञानेन्द्र पौडेल मन्त्रालय छाडेर हिँडेका छन् ।

मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले गरेको सरुवाको निर्णय नियमविपरित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले नमानी अर्को व्यक्तिलाई पठाउन दबाब दिएपछि काम गर्न नसक्ने भन्दै पौडेलले मन्त्रालय छाडेका हुन् ।

जिसीले गत कात्तिक २४ गते बर्दिया राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत पदमा उपसचिव प्रमोद भट्टराईलाई सरुवा गरेका थिए । विभागका महानिर्देशक खड्काले त्यो पदमा मकालु बरुण राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाहलाई सरुवा गरेर ल्याउन दबाब दिएपछि सचिव र महानिर्देशकको विवाद चुलिएको थियो ।

पदस्थापन निजामती सेवा ऐन तथा नियमावली बमोजिम भए पनि महानिर्देशकले निकुन्ज प्रमुखले अनावश्यक दवाव दिएपछि प्रशासन प्रमुख पौडेलले मन्त्रालय छाडेको कर्मचारीहरुले बताएका छन् ।

सहसचिव पौडेल निर्वाचन अनुगमनका क्रममा बाहिर रहेका बेला सचिवले निकुञ्ज प्रमुखको सरुवा स्वीकृत गरेका थिए । तर, त्यो स्थानमा साहलाई ल्याउनुपर्ने भन्दै खड्काले राजीनामा दिने धम्कीसहित सहसचिव पौडेललाई दबाब दिएपछि काम गर्न नसक्ने भन्दै उनी अख्तियार गएका हुन् । पदस्थापन बदर गर्न सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने राय प्रशासन महाशाखाले पेश गरेपछि खड्कासँग विवाद बढेको थियो ।

महानिर्देशक खड्काले प्रशासन शाखाका शाखा अधिकृतहरुलाई प्रमोद भट्टराईसँग घूस लिएर पदस्थापन गराएको आरोप लगाएका थिए । आरोपबारे सचिव जिसीले बुझ्दा झुक्याएर पदस्थापन गरिएको जवाफ भट्टराईले दिएका थिए । सहसचिव पौडेलले संगठनको लक्ष्य हासिल गर्न बाधक नबन्ने भन्दै सरुवा भएर गएको स्रोतले जनाएको छ ।