राजनीति

पार्टी एकताविरुद्ध जानेलाई एमाले नेताले दिए कडा चेतावनी

काठमाण्डौ । नेकपा एमालेका नेता एवम् दोलखाका सांसद पार्वत गुरुङले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताविरुद्ध जाने जोकोहीलाई कडा कार्वाही हुने चेतावनी दिएका छन् ।

नेता गुरुङले पार्टी एकताविरुद्ध जानेलाई आम मतदाताले नै बहिष्कार गर्ने दावीसमेत गरे । दोलखाली पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नवनिर्वाचित दोलखाका सांसदहरु’सँगको साक्षात्कार कार्यक्रममा बोल्दै उनले समृद्ध राष्ट्र निर्माणका लागि जनताले मत दिएको हुँदा पार्टी एकताविरुद्ध कुनै पनि नेता कार्यकर्ताले बोल्न नहुने पनि स्पष्ट पारे ।

बाम गठबन्धनलाई जनादेश मुलुकको समृद्धिका लागि नै भएको भन्दै उनले पार्टी एकतामा अवरोध गर्ने र जनभावनाविपरित जानेलाई जनताले नछाड्ने बताए ।

दोलखा जिल्लाबाट प्रतिनिधिसभामा सबैभन्दा बढी मतअन्तरमा विजयी भएका गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रको नेतृत्व गर्ने जनादेश प्राप्त भएको बताए ।

कार्यक्रममा बोल्दै एमालेका पोलिटव्यूरो सदस्य एवम् दोलखा प्रदेशसभाका सदस्य पशुपति चौलगाईंले दोलखालाई समृद्ध बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे

नेता चौलागाईंले दोलखाको समृद्धिका लागि जलविद्युत उत्पादनको कामलाई उच्च प्राथमिकता दिने योजना पनि सुनाए ।