राजनीति

पार्टी एकता तत्काल नहुने, अबको प्रधानमन्त्री केपी ओली !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ सरकारको प्रधानमन्त्री बन्ने भएका छन् । एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् ।

नेता राईले भने,‘वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ, हामी साना–मसिना दलहरुलाई समेत समेट्ने गरि गृहकार्यमा जुटेका छौं, अबको दुई हप्ताभित्र नयाँ सरकार बन्छ ।’

भोजपुरबाट प्रदेश सभामा निर्वाचित सांसदसमेत रहेका नेता राईले अबको सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न नै अब सान्दर्भिक नरहेको जिकिर गरे । ‘सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न अब प्रश्न रहेन, दुनियाँलाई थाहा भएको कुरा हो नि, यो त चुनावअघि नै अनुमान गरेको, बुझेको कुरा हो नि, यसमा अब कुनै विवाद, शंका वा द्धिविधा भन्ने कुरा छैन, हाम्रो पार्टीका आदरणीय अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ ।’

उनले पार्टी एकताको कारणले सरकार गठनमा कुनै ढिलाई नहुने समेत जिकिर गरे । उनले भने,‘तत्काल पार्टी एकता हुँदैन, अहिले हाम्रो ध्यान सरकार गठनमा केन्द्रित छ, सरकार गठनको काम टुँगोमा पुगिसकेपछि हामी एकता प्रक्रियाको लागि जुट्छौं, त्यसैले सरकार गठनपूर्व पार्टी एकता नहुनपनि सक्छ ।’

यद्धपी नेता राईले जनताले पार्टी एकताको लागि जनमत दिएको उल्लेख गर्दै पार्टी एकतापनि तत्काल सुरु हुने विश्वास दिलाए । उनले भने ,‘को कहाँ बस्ने ? वा नेताहरुको व्यवस्थापन भन्ने कुरा यो नितान्त प्राविधिक विषय हो, यसलाई हामी बडो ईमानदारीपूर्वक र समझदारीपूर्वक टुँग्याउँछौं ।’ उनले सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रवीच आलोपालो भन्ने विषयमा अहिले कुनै निश्कर्ष ननिस्किएको समेत स्पष्ट पारे । राईले भने,‘आलोपालोको विषयमा पनि छलफल चलिरहेको छ, अहिले नै यही हुन्छ भन्न सकिने अवस्था छैन ।’

हालै सम्पन्न भएको निर्वाचनलाई ऐतिहासिक निर्वाचनको संज्ञा दिँदै उनले भने,‘वामगठबन्धनको पक्षमा जनताले आफ्नो अभिमत जाहेर गरेका छन् । यो परिणामलाई म स्वाभाविक ठान्छु । यसकारण कि हामीले यसपटक नेपाल राष्ट्र र नेपाली जनतालाई स्थिर र बलियो सरकार दिने कुरा गरेका छौँ । देशलाई, नेपाली जनतालाई स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासनको बाटोमा लाने र जनताको विकास, समृद्धि र सम्पन्नता प्राप्त गर्ने चाहनालाई तीव्र गतिमा अगाडि बढाउने कुरा गरेका छौँ ।’

राईले थपे,‘यो आजको राष्ट्रिय आवश्यकता हो, आम जनताको साझा चाहना र आकांक्षा हो, त्यसैले वामगठबन्धनको अपिललाई जनताले अनुमोदन गरिदिनुभएको छ । अव देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्छ । जनताको विकास र समृद्धि प्राप्त गर्ने चाहना तीव्र गतिमा अगाडि बढ्छ । अब देश कसैको चाहना वा कामनाले उल्टो दिशामा फर्कन सक्दैन, यथास्थितिमा रहन सक्दैन ।’

२५ वर्षअघिदेखि वामपन्थीहरुको बहुमतको सरकार बनाउने जनताको चाहना यो पटक पूरा भएको समेत उनको भनाई थियो । ‘वामपन्थीहरुको बहुमतको सरकार बनेको हेर्ने जनताको चाहना पूरा भएको छ’ राईले भने,‘लगभग दुई तिहाई नजिक वाम गठबन्धनको पक्षमा मत खसेको छ, यसले मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलिदिएको छ ।’

निर्वाचन सम्पन्न भएको यतिका दिन वित्दापनि वर्तमान सरकारले राष्ट्रिय सभासम्बन्धीको अध्यादेशलाई अड्को थापेर विवाद र बहस सिर्जना गरेको उनले आरोप लगाए । उनले भने,‘वर्तमान जनादेशबारे अहिलेको सरकारलाई राम्रो थाहा छ, जनमतको सम्मान गर्दै छिटो भन्दा छिटो मार्गप्रशस्त गर्नुपर्ने हो, तर यो सरकारले जनमतलाई अपमान गर्दैछ, अध्यादेशको नाममा देशलाई केही दिन बन्धली बनाउन सकिन्छ कि भनेर गलत काम गर्दैछ।’

अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत वर्तमान सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले विवादमा ल्याउने काम गरेको उनको आरोप थियो । उनले भने,‘अध्यादेशबारे राष्ट्रपति महोदयलाई दोष लगाउनु वा आरोप लगाउनु नाजायज र गलत छ ।’ वर्तमान सरकार सहमति तोडेर अघि बढ्ने प्रयासमा उद्धत रहेको समेत उनले आरोप लगाए ।