पु.समाचार

प्रदेश नम्बर २ को ठोरी चितवनमा गाभ्ने माअ‍ोवादी अध्यक्ष दाहालको घोषणा

पर्सा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पर्साको ठोरी गाँउपालिकालाई प्रदेश नं. ३ मा गाभिने बताएका छन् ।

ठोरी गाँउपालिकाले सोमबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा दाहालले ठोरीलाई पहिले नै प्रदेश ३ मा गाभ्ने सहमति भएपनि मधेश आन्दोलनका कारण रोकिएको बताए ।

ठोरीका जनताले पटक पटक अध्यक्ष दाहालसहित विभिन्न दलका नेताहरुलाई भेटी ठोरीलाई ३ नम्बर प्रदेशमा राख्न माग राख्दै आएका थिए ।

उनले नयाँ बन्ने सरकारको पहिलो प्रथामिकतामा ठोरी रहने बताए । ठोरी गाँउपालिकाले सर्वसम्मत निर्णय गरेर प्रदेश ३ मा गाभिने बताएकाले कार्यान्वयनका लागि सहज भएको दाहालको भनाई छ ।

दाहालले ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने बताए । उनले भने,‘ त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण छ,यो निकै छोटो र उत्कृष्ट मार्ग बन्ने छ ।’

चुनावको विजय जुलुसका लागि केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगगले ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भएको उनको दावी छ । उनले ठोरी नाकालाई थप व्यवस्थित गर्नेसमेत प्रतिवद्धता जनाए ।