राजनीति

क्रिसमसको शुभकामना दिँदै राष्ट्रपति र प्रधानमन्त्रीले यसो भने

काठमाण्डौ । क्रिसमस पर्वले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्न सहयोग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वास व्यक्त गरेकी छन् । इसाई धर्मावम्बीको क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाउने राष्ट्रपतिको विश्वास छ ।

इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले शान्त समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेकी छन् ।

भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनीतिक स्थायित्व प्राप्त हुने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै राष्ट्रपतिले नेपालीबीच मनाइने चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आ(आफ्नो स्थानबाट सक्दो योगदान गर्नसकेमा नेपालको चौतर्फी प्रगति छिटो हुने उनको विश्वास छ ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिस्चियन धर्मका संस्थापक येशु ख्रिष्टको त्याग र बलिदानी सबैका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरेका छन् ।

क्रिसमस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रिष्टीयनमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्, येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन्, उहाँले देखाउनुभएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ ।

प्रधानमन्त्री देउवाले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको पनि बताएका छन् ।

नेपालमा सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिँदै आएको उनले बताएका छन् ।