आर्थिक

कोष तथा लेखा नियन्त्रक कार्यालय आफ्नै भवनमा

खोटाङ । कोष तथा लेखा नियन्त्रक कार्यालय, खोटाङको नयाँ भवन आज उद्घाटन गरिएको छ । करिब रु दुई करोडको लागतमा निर्माण गरिएको कोलेनिकाको तीनतले नयाँ भवन महालेखा नियन्त्रक रामकुमार आचार्यले रिबन काटेर उद्घाटन गरेका हुन् ।

ठेकेदार कम्पनी श्रीजयन्ती/एडी/जगदम्बा जेभी बौद्ध–६ काठमाडौँले तीन वर्ष लगाएर निर्माण गरेको नयाँ भवन गत जेठ १ गते हस्तान्तरण गरेको कोष नियन्त्रक लालबहादुर केसीले बताए ।

भाडाको कोठाबाट सञ्चालन हुँदै आएको कोलेनिकाका लागि स्थानीय समाजसेवी चन्द्रबहादुर कार्कीले ३२ लाख बराबरको १० आना जग्गा निःशुल्क दिएपछि कोलेनिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।

रु एक करोड ८३ लाख २३ हजारमा पूरा गर्नेगरी ठेकेदार कम्पनीले विसं २०७२ मंसिर १२ गतेसम्ममा सम्पन्न गर्नेगरी विसं २०७१ भदौ १३ गते सम्झौता गरेको थियो । रु दुई करोड १९ लाख तीन हजार ४१५ रुपैयाँ ८८ पैसामा टेण्डर आह्वान भएकोमा २५ दशमलव ९७ प्रतिशतले घटेर ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएको हो ।

भवन उद्घाटन कार्यक्रममा कोलेनिकाका लागि निःशुल्क जग्गा दिने जग्गादाता कार्कीलाई सम्मानपत्रका साथमा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

जिल्ला मालपोत कार्यालय, खोटाङमा नायब सुब्बा पदमा कार्यरत जग्गादाता कार्कीलाई महालेखा नियन्त्रक आचार्य, उपमहालेखा परीक्षक सूर्यमणि गौतम, उपमहालेखा परीक्षक भुवनप्रसाद काफ्ले र प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले दोसल्ला ओढाएर, फूलमाला र अबिरसहित सम्मानपत्र प्रदान गरेका छन् ।