अन्तर्राष्ट्रिय

साउदीका राजकुमारसँग ६ खर्ब धरौटी माग

एजेन्सी । साउदी अरबका अधिकारीहरुले भ्रष्टाचारको अभियोगमा जेलमा रहेका राजकुमार अलवालेद बिन तलालसँग ६ अर्ब डलर अर्थात ६ खर्ब रुपैयाँभन्दा बढी धरौटी मागेका छन् ।

साउदीमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो धरौटी माग हो । यसका लागि उनको होल्डिङ कम्पनीको ठूलो हिस्सा सुम्पनु पर्ने हुनसक्छ । विन तलालको किङडम होल्डिङ कम्पनीको बजार मूल्य ९ बिलियन डलर मानिएको छ ।

नोभेम्बरमा पक्राउ परेका केही राजकुमारहरु ठूलो रकम धरौटी बुझाएर छुटिसकेका छन् । ६२ वर्षीय अल वालेद विश्वकै धनी व्यक्तिहरु मध्ये एक हुन् । वालस्ट्रिट जर्नलका अनुसार अर्बपतिहरुको सूचीमा ५७ औं नम्बरमा रहेको उनको सम्पत्ति १८ बिलियन डलर मानिएको छ ।

जेलबाट छुट्नका लागि वालेदले एउटा सम्झौता गर्ने कोशिष गरिरहेको स्रोतलाई उदृत गर्दै उक्त पत्रिकाले जनाएको छ । राजकुमारहरु, मन्त्रीहरु र अर्बपतिहरुसहित दर्जनौं हाई प्रोफाइल व्यक्तिहरुलाई केही समयअघि भ्रष्टाचार आरोपमा पक्राउ गरेर रिट्ज काल्र्टोन जेलमा राखिएको थियो । ३ सय २० जनालाई सोधपुछका लागि बोलाइएको थियो जसमध्ये १ सय ५९ जना अहिले पनि जेलमा छन् ।