आर्थिक

अमेरिकाबाट पैसा पठाउन नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा विप्रेषण सेवाको सुरुवात

काठमाण्डौ । अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंकले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी PayPal Inc (XOOM) सँग विप्रेषण सेवाको सुरुवात गरेको छ ।

यस सेवाको सुरुवात पछि अमेरिकामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी PayPal Inc (XOOM) मार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउन सक्ने बैंकले जनाएको छ । त्यसरी पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ साथै नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिन्छ ।

PayPal Inc (XOOM) मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।

देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.र अमेरिकास्थित PayPal Inc (XOOM) बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र लिन सहज बनाएको छ ।

यस अघि नेपाल इन्भेष्मेण्ट बैंक लि.ले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले भारतको Axis Bank र कुवेतकोAl Sultan Exchange सँग पनि सम्झौता गरेको छ । बैंकले पृथ्वी रेमिटमार्फत रकम भुक्तानी गर्न साउदीको Bank Albilad,, यू.ए. UAE Exchange र Al Ahaliya Exchange, कतारको City Exchange र Gulf Exchange   तथा Cyprus को ःMasari Money Transfer संग पनि सहकार्य गर्दै आएको छ ।