पु.समाचार

सबै म्यादी प्रहरीको बैँक खातामा रकम गइसकेको छ, कालिकोट घटनाबारे छानबिन हुन्छः प्रवक्ता न्यौपाने

काठमाण्डौ । नेपाल प्रहरीले चुनावका बेला खटाइएका म्यादी प्रहरीलाई तोकिएको सबै सेवा सुविधा दिएर विदाई गरेको दाबी गरेको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेले चुनाव सकिएपछि सम्मानकासाथ प्रमाणपत्रसमेत दिएर म्यादी प्रहरीलाई विदाई गरिएको बताए ।

आइतबार राजधानमिा भएको साक्षात्कारमा बोल्दै न्यौपानेले कालिकोटमा प्रहरीको गोली लागेर मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । सेवा सुविधा नपाएकै कारणले म्यादी प्रहरीले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको दाबी गरे ।

उनले कालिकोटमा खटाइएका म्यादी प्रहरीलाई धन्यवादसहित प्रमाणपत्र वितरण गरेर विदाई गरिएको बताए । विदाई कार्यक्रम सकिएपछि ढुङ्गामुढा सुरु भएको बताउँदै न्यौपानेले त्यसपछिको घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धानका लागि समिति बनाएको जानकारी दिए ।

म्यादी प्रहरीलाई बैँक खाता खोल्न लगाएर सबै सेवा सुविधाको रकम बैँक मार्फत दिइएको बताउँदै न्यौपानेले अहिलेसम्म सबै म्यादी प्रहरीको बैँक खातामा रकम गइसकेको बताए । प्रहरीले म्यादीलाई पैसा दिएन वा थोरै पैसा दियो भन्ने सुनिए पनि ति सबै झुटा भएको उनको दाबी थियो ।

जिल्ला र भौगोलिक अवस्थाका आधारमा भत्ता रकम फरक फरक हुने भएकाले यस विषयमा अन्यौलमा नरहन सबैलाई न्यौपानेले आग्रह गरे । म्यादी प्रहरी भर्ना गर्नुअघि नै तलब र भत्ताका विषयमा जानकारी दिइएको उनको भनाई थियो ।

चुनावी सुरक्षाका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी प्रयोग गरिएको जानकारी दिदै न्यौपानेले प्रहरी जवान सरह तलब दिइएको बताए । ५५ दिनका लागि तलब, रासन भत्ता, खाजा खर्च, कपडा खर्च लगायतका शीर्षकमा दिने भनिएको सबै रकम खातामा पठाइसकिएको न्यौपानेले बताए ।

महिला म्यादी प्रहरीमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्ने बारेमा पनि अनुसन्धान भइरहेको उनले बताए । संचारमाध्यमबाट घटना सार्वजनिक भएको थाहा पाउनासाथ अनुसन्धान भइरहेको उनको भनाई थियो ।

अन्य कुनै पनि घटनाका बारेमा अहिलेसम्म उजुरी नपरेको न्यौपानले बताए ।