पु.समाचार

समाचारको स्रोत माग्दै पाँच मिडियालाई प्रहरीले पत्र काट्यो, प्रेस चौतारी आक्रोशित

काठमाण्डौ । प्रेस चौतारी नेपालले नेपाल प्रहरीले पाँच सञ्चार माध्यम र तिनका सम्पादकहरुलाई समाचारको स्रोत माग्दै पत्र काटेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस चोतारीले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रहरीले पूर्व डिआइजी नवराज सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पाँच मिडिया र तिनका सम्पादकलाई पत्रचार गर्नु प्रेस स्वतन्त्रताविरोधी गतिविधि भएको बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौले रोशन खड्का (काठमाण्डौ पार्टी डटकम), रवि धामी (मुलधार न्युज डटकम) मदनबाबु भण्डारी (सुशासन डटकम), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डे (जनप्रहार साप्ताहिक-अपराध खबर डटकम)लाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्रचार गरेको छ । प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले काठमाण्डौ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसप) रवीन्द्र धानुक र मुद्दा शाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेलबहादुर पाण्डेलाई पाँचै जना पत्रकारहरुको पछिल्लो एक वर्षको ‘कल डिटेल’ लिन निर्देशन समेत दिएको कुरा विज्ञप्तिमा उल्लेख छ ।

‘प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको नांगो हस्तक्षेप मात्रै नभई यो राज्य आतंक समेत हो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संवैधानिक र कानुनी व्यवस्थाको समेत धज्जी उठाएको छ । नेपाल प्रहरीको यो कदमप्रति प्रेस चौतारी खेद व्यक्त गर्दै भत्र्सना गर्दछ ।’

चौतारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संवैैधानिक व्यवस्था विरोधी यो कदम तत्काल सच्चाउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग माग गरेको छ ।