स्वास्थ्य

उपचारका लागि काठमाण्डौ धाउनुपर्ने समस्या हट्ने, लहानमा क्यान्सर अस्पताल निर्माण

लहान । सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ ।  लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पूर्वाञ्चलमै क्यान्सर अस्पताल नहुँदा अर्बुद रोगी उपचारका लागि चितवन वा काठमाण्डौ जान बाध्य छन् । नेपाल अर्बुद निवारण संस्था सिरहाको पहलमा लहानमा अस्पताल निर्माण गरिने सर्वपक्षीय सहमतिसमेत भएको छ । “लहानमा क्यान्सर अस्पताल निर्माण गर्ने कुरा सकारात्मक हो, अस्पताल निर्माणका लागि म सक्दो सहयोग गर्नेछु”, कार्यक्रममा विविभागीयमन्त्री गिरिराजमणि पोखरेलले भनेका थिए ।

कार्यक्रममा लहान नगरपालिकाका प्रमुख मुनि साहले अस्पताल निर्माणका लागि नगरपालिकाका तर्फबाट जग्गा र व्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । मुरारका ग्रुपका सञ्चालक तथा लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालका संस्थापक अशोक मुरारकाले आफ्नो गृह नगरसमेत रहेको लहानमा क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

यस्तै नेपाली काँग्रेसका नेता तथा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका संस्थापक पदमनारायण चौधरीले अस्पताल निर्माण गर्ने आफूहरुको धेरै पहिलेदेखि नै योजना रहेको बताउँदै निर्माणमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

बढ्दो विषादीको प्रयोग, अस्वस्थ्य जीवन शैली तथा धूमपान र मद्यपानका कारण वर्षेनी अर्बुद रोगीको सङ्ख्या बढ्दै गए पनि २ नं प्रदेशमा अस्पताल नहुँदा बिरामी मारमा पर्दै गएकाले यहाँ अस्पताल निर्माण आवश्यक रहेको सरोकार भएकाहरुको भनाइ छ ।

लहानमा क्यान्सर अस्पताल निर्माण भएपछि हौसिएका उद्योगी र समाजसेवीले नेपाल अर्बुद निवारण संस्था सिरहालाई आर्थिक सहयोग हस्तान्तरण गरेकाछन् । अस्पताल निर्माणका निम्ति एक लाख आर्थिक सहयोग गर्ने उद्योगी राजेन्द्र मुरारका र समाजसेवी मनीष उप्रेतीलाई संस्थाको सदस्यतासमेत प्रदान गरिएको छ ।