राजनीति

साना दलका लागि झलनाथ खनालले गरे खुसीको कुरा

काठमाण्डौ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले उनको सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, ‘कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न हामी लागिपरेका छौँ ।’

प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) बीच छिट्टै एकता हुने र त्यसपछि अन्य ससाना वाम दललाई पनि समाहित गरिने जानकारी दिए ।